मंगलबार, बैशाख ०८, २०८३
गृहमन्त्रीलाई हजारौँ पत्रकारहरुको एउटै सन्देश – “सरकार बिर्सियो कि?”

काभ्रे । नेपाल पत्रकार महासंघले चैत १८ गते सरकारसमक्ष पेस गरेका मागहरूमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको भन्दै आज देशभरका पत्रकारहरूले गृहमन्त्रीलाई एसएमएसमार्फत सन्देश पठाएर सरकारलाई खबरदारी गरेका छन्।

महासंघले जारी आन्दोलनका कार्यक्रमअनुसार आज “सरकारलाई झकझक्याउने दिन” भनेर गृहमन्त्रीलाई सन्देश पठाउने अभियान चलाएको हो। यस अभियानअन्तर्गत पत्रकारहरूलाई व्यक्तिगत रूपमा वा सामाजिक सञ्जालमार्फत सन्देश पठाउन आह्वान गरिएको थियो।

पत्रकारहरूले पठाएको एसएमएसमा भनिएको छ, “माननीय गृहमन्त्रीज्यू, नेपाल पत्रकार महासंघले चैत १८ गते सरकारसमक्ष राखेका मागहरू सरकारले बिर्सिएको हो त?” सन्देशमा विशेष रूपमा चारवटा मागहरू उल्लेख गरिएका छन् – पत्रकार सुरेश रजकको हत्याको स्वतन्त्र छानबिन, तीनकुनेलगायत प्रेस स्वतन्त्रता हननमा संलग्नमाथि कानुनी कारबाही, सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षाको सुनिश्चितता र पीडितलाई क्षतिपूर्तिको व्यवस्था।

महासंघका अनुसार, चैत १८ मा गृहमन्त्रालयमार्फत सरकारसमक्ष आधिकारिक रूपमा मागपत्र बुझाइए पनि सरकारले यसबारे कुनै गम्भीरता नदेखाएको आरोप छ। महासंघका एक पदाधिकारीले भने, “पत्रकारमाथि आक्रमण भइरहँदा सरकार चुप लागेर बस्न मिल्दैन। प्रेस स्वतन्त्रता नेपालको लोकतन्त्रको मेरुदण्ड हो। त्यसलाई गम्भीरतापूर्वक लिन सरकार बाध्य हुनुपर्छ।”

एसएमएस अभियानबाहेक महासंघले आगामी दिनहरूमा चरणबद्ध आन्दोलनलाई तीव्र बनाउने तयारी गरिरहेको जनाइएको छ। हाल राजधानीसहित विभिन्न प्रदेशमा पत्रकारहरूमाथि भइरहेको आक्रमण र दमनको श्रृंखला रोक्न महासंघले ऐक्यबद्धता जुटाउँदै प्रेस स्वतन्त्रताको पक्षमा देशभर चेतनामूलक कार्यक्रम गर्ने तयारी गरिरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय