काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले ज्यान मुद्धामा फरार एक प्रतिवादीलाई ३१ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रे जिल्लाको साविक नाग्रेगगर्चे गा.वि.स. वडा नम्बर ९ हाल चौंरीदेउराली गाउँपालिका वडा नम्बर २ दुतीका ५७ बर्षीय दान बहादुर प्रधान छन् ।
दान बहादुरले २०५० साल बैशाख १६ गते साँझ अन्दाजी ७ बजेतिर सोही स्थानमा बस्ने उत्तर बहादुर प्रधानलाई (छुरी) चक्कु प्रहार गरी हत्या गरेका थिए ।
उत्तर बहादुरको हत्यापछि दान बहादुर फरार थिए । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिकाको वडा नम्बर ७ बाट पक्राउ गरेको हो । पक्राउ परेका दान बहादुरलाई आजै जिल्ला कारागार कार्यालय धुलिखेलमा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डिएसपी मिन बहादुर घलेका अनुसार दान बहादुरलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । २०७६ साल पुस २८ गते अदालत जन्मकैदको फैसला गरेको थियो ।



















