सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगको लिखित जवाफ माग

काभ्रे । काभ्रे बहुमुखी क्याम्पसले सूचना लुकाएको भन्दै परेको पुनरावेदनमा राष्ट्रिय सूचना आयोगले कारण र प्रमाणसहितको लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी मिलनकुमार गौतमले २०८१ फागुन ५ गते सार्वजनिक सूचना ऐन, २०६४ को दफा ३ बमोजिम क्याम्पससँग विभिन्न प्रशासनिक, शैक्षिक, आर्थिक तथा कानुनी पक्षसँग सम्बन्धित विस्तृत सूचनाहरू माग गरेका थिए ।

तर, समयावधि बित्दा कुनै सूचना नदिई फागुन १५ गते सूचना माग अस्वीकृत गर्दै दरपीठ गरिएको थियो । सूचना नदिने क्याम्पस प्रशासनविरुद्ध गौतमले २०८१ फागुन १२ गते राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गरेका थिए ।

उक्त पुनरावेदनको सुनुवाइ गर्दै प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सूचना आयुक्त दुर्गा भण्डारी पौडेलको संयुक्त इजलासले वैशाख ४ गते आदेश जारी गर्दै क्याम्पस प्रशासनलाई सात दिनभित्र सूचना नदिएको आधार, कारण र प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो। उक्त आदेशअनुसार वैशाख आइतबार क्याम्पस प्रमुखलाई पत्र पठाइएको छ ।

विद्यार्थीले माग गरेका मुख्य सूचनाहरू के के हुन् ?

– क्याम्पसमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको नाम, पद, सेवा प्रवेश मिति, स्थायी/अस्थायी स्थिति, करार सम्झौता भए त्यसको प्रतिलिपि ।

– विद्यार्थी संख्या, संकायगत विवरण तथा पछिल्ला ५ वर्षको भर्ना तथ्यांक ।

– नियमावली, कार्यविधि, निर्देशिका, कर्मचारी नियुक्ति प्रक्रिया तथा सेवा सुविधा सम्बन्धी दस्तावेजहरू ।

– विगत ५ वर्षको सरकारी बजेट विवरण, आन्तरिक आम्दानी–खर्च, लेखापरीक्षण तथा वार्षिक वित्तीय प्रतिवेदनहरू ।

– संघ, प्रदेश वा स्थानीय तहबाट प्राप्त अनुदान, परियोजना सहयोग वा अन्य आर्थिक सहयोग विवरण ।

– काभ्रे बहुमुखी क्याम्पसको परिसरभित्र बनेपा क्याम्पस सञ्चालनसम्बन्धी निर्णय, प्रक्रिया, कानुनी आधार, सरकारी पत्राचार तथा सम्झौताहरू ।

– क्याम्पस समितिका बैठकका मिनेटहरू, निर्णय प्रतिलिपिहरू, नियुक्ति प्रक्रिया, विज्ञापन तथा छनोटसम्बन्धी कागजातहरू ।

– परीक्षा प्रणाली, छात्रवृत्ति वितरण मापदण्ड तथा शिक्षण सिकाइ नीति विवरणहरू ।

– बनेपा क्याम्पस सञ्चालनका लागि प्रयोग गरिएको कुनै पनि कानुनी आधार, ऐन, विधेयक वा न्यायिक आदेशको प्रमाणित प्रतिलिपि ।

सिफारिस

ताजा समाचार

लोकप्रिय