उनका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजनहरु ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । जात्राअन्तर्गत पहिलो दिन पूर्णिमाको दिन बिहान सबेरै मत पूजा चिराग यात्रा गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ ।
बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरुले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पुर्याउने प्रचलन छ । यसक्रममा रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई साहस थपिदिने काम पनि हुन्छ । यस्तै हरेक घरमा तयार पारिएका प्रसादहरु झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।
दोस्रो दिन बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिएको ठाउँमा रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको छ । जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पुर्याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्यएपछि जात्रा सकिने गर्छ । धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भइ जलेश्वर महादेव जसिगा सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ ।
जात्राको क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलंदान’ गरिँदै आइन्छ । कलंदान जात्रामा मासुलाई प्रसादस्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकोले यो जात्रालाई विशेष महत्वका साथ लिइने गरिएको हो ।
चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घ–संस्था तथा विद्यालय जात्रा अवधीभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाई गएकाहरु पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुट्टाउनै हुँदैन भन्ने जनविश्वास पनि रहेको छ ।
किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्ष अगाडि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु देवता भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगेको बताइन्छ ।
स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पङ्क्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुशियालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।