मंगलबार, बैशाख ०८, २०८३
काभ्रेको बनेपामा लाग्ने चण्डेश्वरी जात्रा आज सम्पन्न हुँदै

काभ्रे । जिल्लाको बनेपामा बैशाख पुर्णिमाको दिन लाग्ने प्रसिद्ध ऐतिहासिक चण्डेश्वरी जात्रा आज (मंगलबार) सम्पन्न हुर्दैछ ।

वैशाख शुक्ल पूर्णिमा, अघिल्लो दिन देखि शुरु भएको जात्रा आज सम्पन्न हुन लागेको हो ।  जात्राको अवसरमा प्रत्येक वर्ष बनेपाको चण्डेश्वरी मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ । जात्रा शुरु भएदेखि बनेपा आसपासका नेवारी बस्तीहरुमा रौनक छाएको छ ।

चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि एक महत्वपुर्ण चाड पनि हो ।  जात्राको पहिलो दिन सोमबार बिहान सबेरै मत पूजा चिराग यात्रा निकालिएको थियो । मत पूजासँगै औपचारिक रुपमा जात्रा शुरु भएको मानिन्छ । जात्रामा पूर्णिमाका दिन बनेपाको तीनधारामा बनाइएको पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजासहित युवाहरुले बोकेर ल्हाका पालुं हाः भन्दै चण्डेश्वरी पु¥याउने प्रचलन छ ।

दोस्रो दिन आज सोही स्थानमा रहेको देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको वकुटोलतर्फ ल्याउने गरिन्छ । लामो इतिहास बोकेको चण्डेश्वरी जात्रालाई बनेपालीहरुले विशेष श्रद्धा र आस्थाका रुपमा लिने गर्दछन् ।

चण्डेश्वरी मन्दिर भित्र रहेका पिगं देवताहरुलाई १२ वटा बोका बली दिने गरिन्छ । बलि दिएको बोकाको मासुलाई प्रसाद स्वरुप भीडमा फालिने परम्परा रहिआएको छ । कलंदान पछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पुर्‍याएपछि जात्रा सकिन्छ ।

दैत्यराज चण्डासुरलाई बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा कुमारी चण्डेश्वरी प्रकट भइ चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि उनी भगवतीको रुपमा प्रकट भएर चण्डासुरको बध गरी देवगणको रक्षा गरेको किंवदन्ती छ । यसैको खुसीयालीमा हरेक बर्ष चण्डेश्वरी जात्रा मनाइँदै आएको धार्मिक कथन छ ।

जात्रा हेर्न काठमाडौं उपत्यका लगायत सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतबाट बनेपा पुग्ने गरेका छन ।  जात्रा मनाउन बनेपा नगरपालिकाले आज सार्वजानिक विदा दिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय