
काभ्रे । जिल्लाका किसानहरूको एक प्रतिनिधिमण्डलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय पुगेर रासायनिक मलको अभाव समाधान गर्न आग्रह गरेका छन् ।
प्रतिनिधि मण्डलका रूपमा पुरुषोत्तम घिमिरे, जिएन सापकोटा, गोवर्धन थापा लगायतका कृषक तथा अभियन्ताहरूको उपस्थित भएको थियो ।
कृषिमन्त्री रामनाथ अधिकारीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा किसानहरूले हाल रोपाइँको मुख्य सिजन सुरु भइसकेको समयमा काभ्रेमा मलको चरम अभावले खेती–पाती गम्भीर रूपमा प्रभावित भएको उल्लेख गरेका छन् ।
प्रतिनिधिमण्डलका अनुसार काभ्रे जिल्ला काठमाडौँ उपत्यकालाई ताजा र सफा तरकारी आपूर्ति गर्ने प्रमुख स्रोत हो। यस्तो जिल्लामा समेत वर्षेनि मलको अभाव हुनु सरकारको नीतिगत कमजोरी र कृषिप्रतिको बेवास्ता हो भन्ने गुनासो किसानहरूले गरेका छन् ।
“हामी किसानहरू वर्षभर खटिन्छौँ, खेत जोत्नेदेखि फल टिपेसम्मको मेहनत मल बिना सम्भव हुँदैन। मल छैन भने बाली हुँदैन। अनि हाम्रो श्रम मात्र होइन, उपभोक्ताको थाल समेत खाली हुने खतरा हुन्छ ।”
किसानहरूको तर्फबाट बुझाइएको माग पत्रमा तीन प्रमुख बुँदाहरू राखिएका छन् —
१) काभ्रे जिल्लामा तत्काल रासायनिक मलको आपूर्ति गरियोस्,
२) मल वितरण प्रक्रिया छरितो, पारदर्शी र किसानमैत्री बनाइयोस्,
३) दीर्घकालीन रूपमा मल अभाव नहोस् भन्ने सुनिश्चितता हुने नीति कार्यान्वयन गरियोस् ।