काभ्रे । योङ कम्युनिष्ट लिग, (वाइसिएल) नेपाल बागमती प्रदेश समितिले महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)लाई सम्मान गरेको छ ।
सोमबार भक्तपुरमा भएको वाइसिएल, नेपाल बागमती प्रदेशको प्रथम सम्मेलनमा अध्यक्ष जिम्बालाई माओवादी केन्द्रको तर्फबाट बागमती प्रदेश काभ्रे जिल्ला महाभारत गाउँपालिकाको अध्यक्षको नेतृत्व गर्दै महाभारत गाउँपालिकालाई लगातार बेरुजु शुन्य गाउँपालिका बनाउन सफल भएको भन्दै सम्मान पत्रद्धारा सम्मान गरेको हो ।
नेकपा माओबादी केन्द्रका उप महासचिव वर्षमान पुन (अनन्त), योङ कम्युनिष्ट लिग, नेपालका फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा(दिपशिखा), योङ कम्युनिष्ट लिग, नेपालका बागमती प्रदेश इन्चार्ज ललित श्रेष्ठ (अभियान) र वाइसिएल, नेपाल बागमती प्रदेश सम्मेलन आयोजक समितिका संयोजक साजन अधिकारीले सम्मान पत्र प्रदान गरेका हुन् ।
काभ्रे जिल्लाको महाभारत गाउँपालिका महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा पर्न सफल भएको थियो । आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा निरन्तर लागिपरेको महाभारत गाउँपालिकाले वित्तीय व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै लगातार शून्य बेरुजु पालिकाको रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।



















