काठमाडौ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, नक्सालअन्तर्गतको विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । यसबारे एक साताभित्र मन्त्रिपरिषद्को निर्णय आउनेछ ।
यसअघि ४ वैशाखमा भएको एआईजी बढुवामा शाहसमेत राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकारीहरूको नाम छुटेको थियो । सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाबका बाबजुद बालुवाटारले २०५४ सालमा भर्ना भएका राजन अधिकारी र डा. मनोज केसीलाई समेट्नुपर्ने अडान राखेपछि शाहको बढुवा प्रक्रिया रोकिएको थियो । अन्ततः उनी अघिल्लो चरणमा बढुवाबाट छुटेका थिए ।



















