
काभ्रे । जिल्लाकै नवौं नंम्बरको माध्यामिक विद्यालय डेडीथुम्का माध्यामिक विद्यालयका पूर्व विद्यार्थीको सम्मेलनको तयारी तिव्र रुपमा अघि बढेको छ । आगामी जेठ १५ गते मण्डनदेउपुर नगरको सभाहलमा हुने सम्मेलनको तयारी तिव्र रुपमा भएको मुल आयोजक समितिले जनाएको छ ।
सम्मेलनका लागि बनेका मुल आयोजक समिति र उपसमितिले आफ्नो कार्य गरिरहेका छन् । त्यसको तयारी स्वरुप धुलिखेल, मण्डनदेउपुर र काठमाडौंमा मुल आयोजक समितिको नेतृत्वमा भेला सम्पन्न भएका छन् । शुक्रबार काठमाडौको वानेश्वरमा समेत भेला भएको हो ।
२०३८ सालदेखि एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै आइरहेको विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु देशका उच्च तहमा समेत पुगेका छन् । शिक्षा, राजनीति, स्वास्थ्य, संचार, समाजसेवा, उद्योगलगायत विभिन्न क्षेत्रमा रहेका पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र डेडीथुम्काका साथै समग्र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको आयोजक श्री डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले उल्लेख गरे ।
डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले विद्यालयबाट एसएलसी वा एसइइ दिएका करिब ४ हजार ५०० विद्यार्थीलाई समेट्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।पौडेलले योे पहिलो कार्यक्रम भएकाले जति सम्भव हुन्छ त्यतिलाई समेट्दै अघि बढ्ने र पछिल्ला थप कार्यक्रमहरुमा सम्पर्कमा आउने सबैलाई समेट्दै कार्यक्रम गरिने जानकारी दिए ।