
काभ्रे । बनेपा नगरपालिका सडक बालबालिकामुक्त घोषणा गरिएको छ । एक कार्यक्रमबीच बनेपा नगरपालिका सडक बालबालिकामुक्त घोषणा गरिएको हो ।
नगरपालिकाको सबै वडाको क्षेत्रभित्रका गाउँ टोल, समुदाय-बस्ती, सडक वा कुनै पनि स्थानमा बेवारिसे अवस्थामा सडकमा बस्ने बालबालिका नभेटिएकाले सडक बालबालिकामुक्त सबै वडाहरुसहित नगर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकालाई सडक बालबालिकामुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले अहिले यहाँका वडा र नगर क्षेत्रमा सडक बालबालिका नदेखिएको र पछि देखिन सक्ने चुनौतीबारे सचेत गराए । ‘अभिभावकविहीन, आर्थिक तथा पारिवारिक अवस्था, हिंसाका कारण बालबालिकाहरु सडकमा आउन बाध्य हुन्छन्,’ उनले भने, ‘बालबालिकाहरुको वास्तविक अवस्था बुझेर उनीहरुको समस्या हल गर्न आवश्यक छ, सडकमा बालबालिका देखिन सक्ने कुरालाई मध्यनजर गर्दै यस विषयमा नगरपालिकाले समय–समयमा निगरानी तथा अनुगमन गर्नुपर्छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहालले नगर र वडाका विभिन्न स्थानमा गरिएको अनुगनमा सडकमा बालबालिका नभेटिएपछि नगरपालिकालाई सडक बालबालिकामुक्त घोषणा गरिएको हो । उनका अनुसार, यस पालिकाका कुनै बालबालिकामा सडकमा बस्नुपर्ने स्थिति नदेखिएको र बाह्य जिल्ला तथा देशबाट आउने बालबालिकाहरु सडकमा बस्नाले चुनौती देखिएको हो ।
नगरपालिकालाई सडक बालबालिकामुक्त घोषणा गरिएपछि पनि नगर क्षेत्रका सडकमा बालबालिका भेटिएमा त्यसको व्यवस्थापन नगरपालिकाले गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । यस विषयमा नगरपालिकाले नियमित निगरानी तथा अनुगमन गर्ने उनले बताइन् ।
कार्यक्रममा बनेपा नगरपालिकाका जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, कर्मचारीहरुले घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यस्तै, सडक बालबालिकामुक्त घोषणा गरिएका १४ वटै वडाका जनप्रतिनिधिहरुलाई प्रमाणपत्र पनि दिइएको थियो ।