सोमबार, बैशाख ०७, २०८३
पनौतीको तामाङ घ्याङ गुठी भवन परिसरमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम

काभ्रे । जिल्लाको पनौती नगरपालिका–६ त्रिवेणी घाटमा अवस्थित तामाङ घ्याङ गुठी भवन परिसरमा वृक्षरोपण, सरसफाई तथा खानेपानी पाइप व्यवस्थापन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।शनिबार धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यस गुठी परिसरमा वातावरण संरक्षण, धार्मिक स्थलको स्वच्छता र स्थानीय जनताको आधारभूत सुविधामा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा समाजसेवी तथा राजनीतिक व्यक्तित्व दैवलाल घिसिङको विशेष उपस्थिति रहेको थियो, जसले समुदायमा सकारात्मक ऊर्जा थपेको छ । समाजसेवी तथा राजनीतिक अग्रज बुद्ध लामा, दिनेश लामा, लामा गुरु सुवाल सिँ तामाङ, तामाङ समुदायका सम्माननीय व्यक्तित्वहरू तथा ब्रदरहुड युवा समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेष रूपमा बुद्ध लामाको पहलमा आयोजना गरिएको हो। लामाको नेतृत्वले सामुदायिक सहकार्य र सामाजिक जिम्मेवारीप्रतिको चेतनालाई उदाहरणीय रूपमा प्रस्तुत गरेको छ।

वृक्षरोपण कार्यक्रममा पनौती–१२ निवासी समाजसेवी लीला बहादुर स्याङ्तानको महत्वपूर्ण सहयोग रहेको थियो। स्याङ्तानले डिभिजन वन कार्यालयमार्फत धुपी, कपुर र अन्य जातका बिरुवाहरू उपलब्ध गराएका थिए । गुठी परिसरमा ती बिरुवाहरू रोपिँदा धार्मिक स्थलमा हरियाली र वातावरणीय सन्तुलन कायम राख्ने अपेक्षा गरिएको छ।

गुठी भवन र त्यसको आसपासको परिसरमा सरसफाई अभियान सञ्चालन गरिएको छ । त्यससंगसँगै दर्शनार्थी र स्थानीय बासिन्दाहरूको सहजता र सुविधा वृद्धिका लागि खानेपानी पाइप जडान तथा व्यवस्थापन कार्य पनि सम्पन्न गरिएको छ, जसले स्थायी रूपमा सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ।

कार्यक्रम आयोजकहरूका अनुसार, अग्रजहरूको मार्गदर्शन, युवाहरूको श्रम र सामुदायिक सहभागिताले कार्यक्रमलाई पूर्ण सफल बनाउन मद्दत पुगेको हो। सहभागी ब्रदरहुडका युवाहरू तथा तामाङ समुदायका सदस्यहरू यस्तो सामाजिक कार्यमा संलग्न हुन पाउँदा गर्वित र हर्षित देखिन्थे।

यस किसिमको सामुदायिक अभियानले धार्मिक सम्पदाको संरक्षण, वातावरणप्रति उत्तरदायित्व र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। आयोजक पक्षले आगामी दिनहरूमा पनि यस्ता सकारात्मक सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय