काभ्रे । जिल्लाको पनौती नगरपालिकाको नगरसभा स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरू उपस्थित नभएपछी नगरसभा स्थगित भएको हो ।
एमालेबाट निर्वाचित उपप्रमुख गीता बञ्जारा, ७ जना वडाध्यक्ष र नगरसभा सदस्यहरू बैठक उपस्थित नभएपश्चात नगरसभाका लागि गणपूरक संख्या अपुग भएको हो । नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
नगर प्रमुख भण्डारीले उपप्रमुख सहितका जनप्रतिनिधिहरू अनुपस्थित भएका कारण बैठक बस्न नसकिएको बताए । कार्यपालिकामार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नु परेको उनको भनाइ छ ।
उपप्रमुख गीता बञ्जाराले कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको बताइन् । नगरपालिकामा बचेको ३६ करोड स्रोतध्येबाट १२ वटा वडालाई १ करोडका दरले १२ करोड वितरण गर्ने सहमति भएको समेत उपप्रमुख बञ्जाराले बताइन् ।
६२ सदस्यीय नगर सभामा नगरप्रमुख, ४ वडाध्यक्षसहित २० जना नेपाली कांग्रेसबाट, १ वडाध्यक्ष र एक वडा सदस्य एकीकृत समाजवादीबाट छन् । उपप्रमुखसहित ४० जना एमालेबाट निर्वाचित छन् ।



















