धादिङ । गजुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड २२ लाख ९२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गजुरी गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष शर्मिला विशुरालले बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता र समृद्धिको मार्गचित्र अनुरूप बजेट विनियोजन गरिएको जानकारी दिइन् ।
प्रस्तुत बजेटमध्ये ४३ करोड ३३ लाख ४२ हजार रुपैयाँ (६४.५ प्रतिशत) चालु खर्चतर्फ र २३ करोड ८९ लाख ५० हजार रुपैयाँ (३५.५ प्रतिशत) पुँजीगत खर्चतर्फ छुट्याइएको छ ।
सभामा गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको प्राथमिकता कृषि, सीपमूलक तालिम तथा शिक्षामा केन्द्रित हुने स्पष्ट पारे ।
उनले गाउँको समृद्धिका लागि स्रोतको अधिकतम उपयोग र पारदर्शिता कायम राख्दै योजना कार्यान्वयन गरिने बताए ।



















