काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका-३ का नरेश तामाङ वैदेशिक रोजगारीबाट नेपाल फर्केर नाइन बार क्याफे एण्ड बारिष्टा ट्रेनिङ स्कुल सञ्चालनमा ल्याएको छ ।
नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यले वैदेशिक रोजगारीबाट फर्केर काभ्रे जिल्लाको व्यापारिक केन्द्र बनेपामा स्कुल सञ्चालन गरेका हुन् । तीन महिना अगाडि बनेपामा सञ्चालन गरेको नाइन बार क्याफे एण्ड बारिष्टा ट्रेनिङ स्कूलले २० जना बारिष्टा कफी बनाउने दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।
आज शुक्रबार एक समारोहबीच प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र वितरण गरेका छन् । बागमती प्रदेश पूर्वमन्त्री चन्द्र लामाको प्रमुख आतिथ्यतामा प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र वितरण गरेका हुन् । प्रमाणपत्र वितरण गर्दै पूर्वमन्त्री लामाले विदेशमा सिकेको सीप र अनुभवलाई स्वदेशमा आएर व्यवसाय गर्नु उल्लेखनीय काम भएको बताए । युवाको जोश जागरलाई राज्यले सदुपयोग गर्दै सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
स्कूलका सञ्चालक नरेश तामाङ १२ बर्षसम्म विदेशमा यही पेशामा काम गरेको अनुभव छ । विदेशमा साढे २ लाख भन्दा बढी कमाउने तामाङ स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्केको बताउछन् । `पैसा कमाउनकै लागि त मलाइ विदेशमै ठिक थियो तर स्वदेशमै केही गर्नु पर्छ भनेर व्यवसाय सुरु गरेको हु ।´ उनले भने ।
उनको ट्रेनिङ स्कूलमा सहुलियत रुपमा बारिष्टा तालिम दिने गरेको बताएका छन् । तीन महिने तालिमको लागि जम्मा १३ हजार लिने गरेको उनले बताए । अन्य ट्रेनिङ सेन्टरको तुलनामा शुल्क धेरै कम लिएको उनी बताउछन् । प्रमाणपत्र प्राप्त गरेका युवाहरू केही वैदेशिक रोजगारी जाने तयारीमा छन् भने केही नेपालमै व्यवसाय सञ्चालन गर्ने तयारी रहेको बताएका छन् ।
उक्त प्रमाणपत्र वितरण कार्यक्रममा युवा नेता राकेश लामा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सागर रायमाझी लगायतका उपस्तिथि रहेका थिए ।




















