काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले बुधबार स्वास्थ्य मन्त्री प्रदिप पौडेलसँग भेट गरी सो पत्र बुझाएका हुन् ।
गाउँपालिकाले पत्रमार्फत नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा केन्द्र स्थापनाको माग गरेको छ ।
हालसम्म गाउँपालिकाभित्र आधारभूत अस्पताल नरहेको र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा नागरिकको सहज पहुँच नपुग्दा बीमा कार्यक्रम कार्यान्वयनमा समस्या उत्पन्न भएको जनाइएको छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “नेपाल सरकारले लागू गरेको बीमा कार्यक्रम अन्तर्गत उपचार प्रक्रियामा कठिनाइ भएको छ। सेवाका लागि जिल्लाभित्रका अन्य स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यताले जनविश्वासमा नकारात्मक प्रभाव परेको छ।”
त्यसैले, गाउँपालिकाभित्रै आधारभूत अस्पताल स्थापना गर्न माग गरिएको छ। साथै, अस्पताल स्थापना नभएसम्मको लागि स्वास्थ्य बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र धुलिखेल अस्पतालमा कायम गरिदिन स्वास्थ्य मन्त्रालय समक्ष आग्रह गरिएको छ।
गाउँकार्यपालिकाबाट सो सम्बन्धमा आवश्यक निर्णय भइसकेको भन्दै त्यसैअनुसार सहजीकरण गर्न महाभारत गाउँपालिकाले सरकारसँग अपिल गरेको छ।




















