मंगलबार, बैशाख ०८, २०८३
काभ्रेबाट नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह पक्राउ

काभ्रे । धुलिखेलमा नक्कली सरकारी कागजात र छाप बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विशेष सूचनाका आधारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गोरखा लखन गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–१२ निवासी ३८ वर्षीय जितेन्द्र तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले विभिन्न सरकारी तथा निजी संस्थाका नक्कली छाप प्रयोग गरी राहदानी, नागरिकता, शैक्षिक प्रमाणपत्र जस्ता कागजातहरू तयार पार्दै आएका थिए। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई यस्ता नक्कली कागजात बेच्ने गरेको खुलासा भएको छ।

प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमति लिएर गरिएको छापामारीमा निम्न सामग्रीहरू बरामद गरेका छन्:

  • २६ थान विभिन्न छापहरू
  • नेपाली रुपैयाँ ६८ हजार ७ सय
  • राहदानी, नागरिकता र शैक्षिक प्रमाणपत्र
  • हार्डड्राइभ, सीपीयू, प्रिन्टर, फोटोकपी मेसिनलगायतका उपकरण

बरामद छापहरूमा धुलिखेल नगरपालिका वडा नं. १२, बागलुङको ताराखोला गाउँपालिका, हेटौंडा उपमहानगरपालिका, चितवनको रत्ननगर वडा नं. १, नेपाल विद्यार्थी संघ, नेपाल नोटरी पब्लिक काउन्सिलका साथै विभिन्न वडाध्यक्ष, अस्पताल, मासु पसल, होटल र कम्प्युटर इन्स्टिच्युटका नाम रहेका छन्।

उनीहरूविरुद्ध सरकारी छाप दुरुपयोग तथा कागजात नक्कली बनाएको अभियोगमा जिल्ला अदालत काभ्रेबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय