भक्तपुर । नगरकोटको शान्त पहाडी गाउँमा बसेर ग्रामीण पर्यटनको नविन परिकल्पना साकार पार्दै आएका सुरज बास्तोला अहिले नेपालको सामुदायिक होमस्टे क्षेत्रका एक अग्रगामी अभियन्ताको रूपमा उदाएका छन्। नेपालभर फैलिंदै गइरहेको होमस्टे संस्कृति पछाडि उनि जस्ता नेतृत्वदायी व्यक्तिहरूको योगदान दिनानुदिन महत्त्वपूर्ण बन्दै गएको छ।
२०११ बाट सुरु गरिएको नगरकोट सामुदायिक होमस्टे विनाशकारी भूकम्पपछि पश्चात होमस्टे पाठशालाको रुपमा थप ब्यबस्थित गर्दै अहिले देशैभर उदाहरणीय मोडेल बनिसकेको छ। सुरुमा केही घरधुरीबाट सुरु गरिएको यो पहल अहिले दर्जनौं परिवारको आर्थिक मेरुदण्ड बनेको छ।
उनको भनाइमा, “पर्यटन केवल दृश्य हेर्ने माध्यम होइन, समाज रूपान्तरण गर्ने शक्ति हो। गाउँमै पाहुना ल्याएर संस्कृतिको आदानप्रदान गर्न सकिन्छ भने आम्दानीको स्रोत पनि बन्न सक्छ।”
विगत केही वर्षदेखि सुरज बास्तोला होमस्टे महासंघ नेपालका कोषाध्यक्ष समेत रहँदै आएका छन्। उक्त महासंघले हालसम्म देशभर १२०० भन्दा बढी निजी तथा सामुदायिक होमस्टेहरूलाई समेटेको छ। उनले नेतृत्व गरेका धेरैजसो होमस्टेले पर्यावरणीय संरक्षण, महिला सशक्तिकरण, रोजगारी सिर्जना र संस्कृति संरक्षणजस्ता विषयमा उल्लेखनीय काम गरेका छन्।
स्थानिय तहदेखि राष्ट्रिय नीतिसम्म आफ्ना आवाज पुर्याउँदै बास्तोला भन्छन्, “सस्तो मूल्यमा सस्तो अनुभव होइन, साँचो नेपालीपन दिने होमस्टे हाम्रो लक्ष्य हो।” गाउँमै रहेर उदाहरणीय काम गरेका सुरज बास्तोलाजस्ता पात्रहरूले अबको नेपालमा स्थानीय विकासको खाका पर्यटनमै भर पर्न सक्छ भन्ने सम्भावनालाई मजबुत बनाइरहेका छन्।
“पर्यटन भनेको केवल पाहुना आउने कुरा होइन, त्यो त गाउँको चुल्होबाट सुरु हुने आत्मनिर्भरताको यात्रा हो।” – यस्तै विश्वास राख्ने व्यक्ति हुन् सुरज बास्तोला, जो अहिले नेपालको सामुदायिक होमस्टे अभियानका प्रमुख अभियन्ताका रूपमा चिनिन्छन्।
नगरकोटमा सामुदायिक होमस्टेको सुरुवात मात्र नभई बास्तोलाले नेपालका ४५ भन्दा बढी जिल्लामा पुगेर १०० भन्दा माथी ग्रामीण बस्तीहरूमा होमस्टे स्थापना, अभिमुखीकरण तथा तालिम कार्यक्रममार्फत सक्रिय भूमिका खेलेका छन्।























