शनिबार, माघ २४, २०८२
“क्रान्तिकारी छोरीहरूलाई साथ दिने श्रीमानहरू”- नयाँ पुस्ताको लागि प्रेरणा

दिपेश घिमिरे – 
काभ्रे । क्रान्तिको सुरुवात विद्रोह बाट हुन्छ भन्ने कुरा सुन्दै बुझदै अनि अध्ययन गर्दै आएको म तर आज आफैले विद्रोहका पनि अनेक शृङ्खला हुनेरहेछ बिभेदको सिमा र रुपरेखा जहाँपनि हुनसक्ने रहेछ भन्ने कुरा देखे र आज चेलिहरुले गरेको क्रान्तिको बिजारोपण संगै श्रीमानले दिएको साथलाइ उच्चसम्मान सहित सामाजिक क्रान्तिको एउटा उदाहरण लेख्दैछु।

२१ औं शताब्दीका परिवर्तनकारी सामाजिक न्याय समानताको हुंकार गर्ने हामी अझैपनी हाम्रो समाजमा धेरै प्रचलित रुढीवादी परम्पराहरू छन्, जसले महिलालाई सहायक भूमिकामा मात्र सीमित बनाउन खोज्छन्। तर समय बदलिँदै गएको छ, दृष्टिकोण बदलिँदै गएको छ, र महिलाहरूले आफ्नो अधिकार प्रयोग गर्दै समाजलाई नयाँ बाटो देखाउन थालेका छन्।

नेपालमा धेरै स्थानहरुमा छोरिहरुले आफ्ना बुवा आमाको पार्थिव शरिरलाइ दागबत्ती दिएको,काजकिरिया गरेको कुरा हामिले सुन्दै हेर्दै आएकानै छौं।हिन्दु संस्कारमा अझै पनि “काजकिरिया केवल छोराले गर्ने” भन्ने अडान बलियोसँग देखिन्छ। तर, समयको धारा कहिल्यै रोकिँदैन। पनौती नगरपालिका वडा न.१ रयालेमा २१औं शताब्दीका शिक्षित र सचेत क्रान्तिकारि छोरीहरूले परम्परागत विभेदलाई चुनौती दिँदै आफ्नै जीवनमार्ग कोरेका छन् जसमा श्रीमानहरुले पुर्ण साथ दिएका छन।

साबिक रयाले गाबिस हाल पनौती नगरपालिका वडा न.१ मा स्व. हरि प्रसाद सापकोटाको निधनपछि उनका छोरीहरू बिमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटाले बुवाको काजकिरिया गर्ने दृढ निर्णय लिए। यो निर्णय सजिलो थिएन, किनभने माइतीका दाजुभाइहरूले यसलाई अस्वीकार गर्दै सामाजिक तिरस्कार पनि गरे विवाह भएर गोत्र सारिसकेका चेलिहरुले यसरी काजकिरिया गर्नु हिन्दु संस्कारको खिलाप हो र गर्न हुदैन भन्दै चेलिहरुलाइ असहयोग गर्ने निर्णयमा पुगे केही दाजुभाइहरुले चेलिहरुलाइ साथ समर्थन संगै यो कदमप्रती सहयोग गर्न प्रतिबद्ध भए। तर, यी छोरीहरूको साहसलाई अझै शक्तिशाली बनाउने एउटा पक्ष थियो आफ्ना श्रीमानहरूको साथ। सुख र दुखमा आफ्नो जिवनसाथिको साथ सहयोग प्रेम र प्रेरणा कस्तो हुनुपर्छ भन्ने उदाहरण बन्नु भयो श्रीमानहरु ।

हरिशरण दाहाल, नवराज भुर्तेल र सिताराम अधिकारीले आफ्ना जीवनसाथीहरूको निर्णयलाई केवल सम्मान मात्र गरेनन्, बरु सक्रिय साथ दिए। यसरी, महिलाले आफ्नो अधिकारको प्रयोग गर्दा पुरुषहरूले पनि खुलेर समर्थन गर्न सक्छन् भन्ने सशक्त उदाहरण बने।समाजका हरेक प्रश्न परम्परा, संस्कार र विभेद सामना गर्न छोरीहरू मात्र होइन, उनीहरूका श्रीमानहरूले पनि काँधमा काँध मिलाए। यो संयुक्त सहयात्राले एउटा ठूलो सन्देश दिएको छ बुवाआमाप्रति कर्तव्य निभाउने अधिकार छोरा मात्र होइन, छोरीमा पनि समान हुन्छ। सन्तानको धर्म छोरीले पनि बराबरीसँग पूरा गर्न सक्छिन्।

श्रीमतीको निर्णयलाई साथ दिने श्रीमानहरू नै आजका सच्चा सहयात्री हुन्, जसले समानताको समाज निर्माणमा योगदान पुर्‍याउँछ।पति–पत्नी समानताको आधारमा अघि बढ्दा मात्र समाजमा वास्तविक परिवर्तन सम्भव हुन्छ।परम्परा परिवर्तनलाई अपमान मान्नु हुँदैन, बरु नयाँ चेतनासँग सहअस्तित्वमा अघि बढ्नु पर्छ।स्व. हरि प्रसाद सापकोटाको काजकिरियामा देखिएको यो उदाहरणले बिमला, निर्मला र राधिकाको साहस र तिनका श्रीमानहरूको साथले नेपालजस्तो धार्मिक र परम्परागत समाजमा नयाँ चेतना फैलाएको छ।

यो कदम केवल काजकिरिया बस्ने व्यक्तिगत अधिकारको मात्र विषय होइन, यो त समाजिक क्रान्ति हो। छोरीहरूले देखाए कि बुवाआमाप्रति कर्तव्य पुरा गर्ने अधिकार छोरी र छोराबीच फरक हुँदैन। उस्तैगरी, श्रीमानहरूले देखाए कि सहजीवनको अर्थ केवल घरपरिवारको जिम्मेवारी बाँड्ने मात्र होइन, आवश्यक पर्दा समाजसँग लड्न श्रीमतीलाई हौसला दिने पनि हो।

यस घटनाले केवल एक परिवारको संस्कारलाई परिवर्तन गरेको होइन, समाजलाई प्रश्न गरेको छ कसरी हामी अझै पनि छोरा–छोरी बीच विभेद गर्छौं? आज बिमला, निर्मला र राधिकाको निर्णय केवल श्रद्धाञ्जली होइन, इतिहासमा लेखिने साहसिक कदम हो र उनीहरूको साथमा उभिएका हरिशरण, नवराज र सितारामहरू समाजका ती पुरुषहरूका प्रतिनिधि हुन जसले महिलाको संघर्षलाई आफ्नो संघर्ष मानेर परम्परागत असमानतासँग जुध्न तयार छन्।

नयाँ पुस्तालाइ एउटा प्रेरणा बनेको उदाहरण हो यो कि श्रीमान- श्रीमतीको साथ जुनसुकै क्रान्ति सफलताको जग हो ,प्रेम त्यही हो जहाँ प्रेमी संघर्षको सारथि बनोस,प्रेरणा त्यही हो जहाँ संघर्षको जुनसुकै मैदानमा सबै प्रहारहरुलाइ निस्तेज गर्न प्रेमी अगाडि बढोस् । तपाइहरुको सच्चा प्रेम र समर्पण इतिहासको पानमा जरुर लेखियोस क्रान्तिको एउटा उदाहरण र हामी नयाँ पुस्ताको प्रेरणा बन्नु भएकोमा धन्यवाद । बा प्रति भावपुर्ण श्रदान्जलि अर्पण गर्दछु।

सिफारिस

ताजा समाचार

लोकप्रिय