काभ्रे । तामाङ पत्रकार संघ काभ्रेपलाञ्चोकले ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वि.सं. २०५१ साल भाद्र १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार वाचन गरेको दिनलाई स्मरण गर्दै तामाङ पत्रकार संघले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको छ । रेडियो नेपालमा पहिलो पटक रमिता बलको आवाजमा तामाङ भाषाको समाचार वाचन गरेको ३१ औं वर्षमा प्रवेश भएको छ ।
कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मी तथा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा संघको काभ्रे शाखाका संस्थापक अध्यक्ष पेमा लामा, पूर्व अध्यक्ष चमारसिं तामाङ (शिशिर), जगतमान बल तामाङ र अन्जली तामाङ रहेका छन् । पत्रकारिता मार्फत तामाङ भाषा, साहित्य र संस्कृतिको संवर्द्धन–प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको र संगठनलाई कुशल नेतृत्व गरेको कदर स्वरूप उनीहरुलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख तथा नेपाल तामाङ संघ काभ्रेका अध्यक्ष रिमबहादुर तामाङले चारै जना सञ्चारकर्मीलाई सम्मान गरेका थिए । उनले तामाङ भाषा र संस्कृतिको प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै ‘ब्राह्मणवाद’को मात्र विरोध गरेर होइन, प्रतिस्पर्धामा सक्षम भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै विशेष अतिथि रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइबा (ज्वाला) ले सञ्चारमाध्यमहरू बढ्दो क्रममा भए पनि तामाङसहितका आदिवासी भाषाका कार्यक्रमहरू कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै पहिचान र सभ्यताको संघर्षमा पछि पर्न नहुने धारणा राखे ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले तामाङ भाषाको प्रयोग सोही समुदायमै घट्दो अवस्थाप्रति ध्यानाकर्षण गराउँदै भाषा र संस्कृतिको विकासमा सञ्चारले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष दिनेश खरेल, तामाङ पत्रकार संघका केन्द्रीय सदस्य अन्जली तामाङ, बागमती प्रदेश सदस्य विकास वाइबा तामाङलगायतले तामाङ समुदायको उत्थान र विकासमा सञ्चार क्षेत्रको योगदानबारे धारणा राखेका थिए ।
कार्यक्रम संघका अध्यक्ष लोकबहादुर लामाको सभापतित्वमा सम्पन्न भएको थियो । संघका सचिव अशोक बुद्ध लामाले कार्यक्रम सञ्चालन गरेका थिए भने कोषाध्यक्ष लालध्वज तामाङले स्वागत मन्तव्य दिएका थिए ।



















