सोमबार, बैशाख ०७, २०८३
नेपाली भूमि संरक्षणका लागि उच्चस्तरीय कूटनीतिक पहलको माग

काभ्रे ।  प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको प्रश्नलाई उच्चस्तरीय कूटनीतिक पहलमार्फत तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

आकस्मिक समयमा बोल्दै उहाँले कालापानी र लिपुलेक क्षेत्र हुँदै छिमेकी मुलुकहरूले सीमा व्यापार गर्ने सहमतिबारे गम्भीर प्रश्न उठाउँदै त्यसमा नेपाललाई बेवास्ता गरिएको भन्दै सरकारलाई कूटनीतिक रूपमा दृढ कदम चाल्न आग्रह गर्नुभयो।

मुख्य सचेतक बर्तौलाले बुधबार भारतीय विदेश मन्त्रालयमार्फत सार्वजनिक भएको भारत–चीन विदेशमन्त्रीस्तरीय सहमतिमा नेपालको संलग्नता बिना लिपुलेक र कालापानी प्रयोग गरी सीमा व्यापार गर्ने निर्णयप्रति कडा आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “भूगोल, जनसङ्ख्या वा अर्थतन्त्रमा मुलुक सानो–ठूलो हुन सक्छ, तर नेपाल सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो। देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानमाथि आघात सह्य हुने छैन।”

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले लिपुलेक र कालापानीको भू–भाग छिमेकी राष्ट्रले प्रयोग गर्ने प्रसङ्गलाई गम्भीर विषय ठहर गर्दै सरकारले ठोस र दृढ पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मानव तस्करीजस्ता मुद्दामा ठूला दलहरू पर्याप्त गम्भीर नभएको आरोप लगाउँदै, रास्वपाले माग गरेको स्वतन्त्र छानबिन समिति गठन नगरी उपसभामुखलाई मात्र निशाना बनाइएको टिप्पणी गर्नुभयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसामा जाने व्यक्तिसम्बन्धी विषयमा न्यायिक छानबिन गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई माग गर्नुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय