काभ्रे । लोकप्रिय नेपाली लोकरक ब्यान्ड **नेपथ्य**ले हालै लन्डनको वेम्बली एरिनामा ऐतिहासिक कन्सर्ट प्रस्तुत गर्दै हजारौं नेपाली दर्शकलाई आफ्ना चर्चित गीतमा झुमायो। अमृत गुरुङको नेतृत्वमा रहेको समूहले २३ अगस्टमा कोपनहेगन, २७ मा माल्टा, ३१ मा लिस्बन र ३ सेप्टेम्बरमा एन्टवर्पमा प्रस्तुति दिने तय गरेको छ।
लन्डन कन्सर्टपछि फुर्सदको समयमा नेपथ्यका सदस्यहरूले लिभरपुलस्थित विश्वप्रसिद्ध **बिटल्स म्युजियम** भ्रमण गरे। उक्त संग्रहालयमा वाद्ययन्त्र, स्टेज पोशाक, व्यक्तिगत पत्रदेखि करिब १ हजारभन्दा बढी दुर्लभ सामग्रीहरू प्रदर्शित छन्।
संग्रहालय अवलोकनपछि प्रमुख गायक अमृत गुरुङले बिटल्सको संगीत सुन्न र उनीहरूको ऐतिहासिक वातावरणमा उभिन पाउनु आफू र समूहका लागि अभूतपूर्व अनुभव भएको बताए। उनले भने, *“स्रष्टालाई सम्मान र कलाकारलाई अपनत्व दिएको सहर लिभरपुल, तिमीलाई धन्य मान्छु।”*
नेपथ्यले यसअघि अमेरिका र अस्ट्रेलियामा पनि टूर गरिसकेको छ। युरोप टूर सम्पन्न गरेर उनीहरू ५ सेप्टेम्बरमा स्वदेश फर्किने छन्।
सन् १९६० मा लिभरपुलमै स्थापित **बिटल्स** विश्व संगीत इतिहासकै सर्वकालीन प्रभावशाली रक ब्यान्ड मानिन्छ। जोन लेनन, पल म्याकार्टनी, जर्ज ह्यारिसन र रिंगो स्टार सम्मिलित समूहले नयाँ शैली, गीत लेखन, र ध्वनिको प्रयोगमार्फत पप संगीतमा क्रान्ति ल्याएको थियो। १९६० को दशकमा ‘काउन्टर कल्चर’को नेतृत्व गर्दै ब्यान्डले ‘बिटलमेनिया’को लहर फैलाएको थियो, जसले संगीत मात्र होइन, फेसन, फिल्म र सामाजिक धारणा समेतमा गहिरो प्रभाव पारेको थियो।



















