सोमबार, बैशाख ०७, २०८३
बागलुङको निसेलढोर बर्खामा सडक अवरुद्ध, खाद्यान्न ढुवानीमा समस्या

काभ्रे । बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोरमा बर्खा लागेपछि सडक अवरुद्ध हुँदा स्थानीयले खाद्यान्न ढुवानीमा ठूलो समस्या खेपिरहेका छन्।
जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङसँग सात वर्षअघि सडक सञ्जालले जोडिए पनि असारदेखि कात्तिकसम्म सडक हिलो र भासिने भएकाले यातायात ठप्प हुन्छ।

स्थानीय सम्झना विकका अनुसार वर्षा सुरु हुनासाथ गाडी मात्र होइन, घोडा खच्चड समेत चल्न सक्दैनन्। बजारबाट सामान बोक्न दिनभर लाग्ने र बिरामीलाई डोकामा बोकेर लैजानुपर्ने बाध्यता अझै कायम छ।

निसेलढोरमा करिब ३०० घरधुरी बर्खामा बसोबास गर्ने गरेका छन्। आलु, स्याउ, सिमी जस्ता कृषिजन्य उत्पादन राम्रो भए पनि सडक अवरुद्ध हुने भएकाले बजारीकरणमा समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

ढोरपाटन नगरपालिका–९ को नवी हुँदै मसखोलासम्म सडक सहज भए पनि माथिल्लो ४ किलोमिटर सडकको दुरावस्थाले सबैलाई सास्ती दिइरहेको छ। “सडक व्यवस्थित भए बाह्रै महिना गाडी चल्थ्यो, उत्पादन कुहिने समस्या पनि हट्थ्यो,” स्थानीयले बताएका छन्।

यसैबीच, गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार यस वर्ष मसखोलादेखि निसेलढोरसम्मको ४ किलोमिटर सडक स्तरोन्नतिको लागि सर्भे सम्पन्न भइसकेको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाख बजेटमा सडक स्तरोन्नतिपछि बाह्रै महिना यातायात सञ्चालन हुने उनको दाबी छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय