काभ्रे । यसपालि दशैंको फूलपातीमा प्रदर्शन हुन लागेको तीन फिल्ममध्ये ‘माइतीघर’ले प्रचार अभियानलाई तीव्र बनाउँदै आगामी साता पहिलो गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गर्न लागेको छ। केही दिनअघि मात्रै यसको छायांकन पूरा भएको छ। निर्माता रोहित अधिकारीका अनुसार गीतको भिडियो तयार पार्न करिब ५० लाख खर्च भएको छ।
गीतको भिडियो ११ दिनमा छायांकन गरिएको थियो र फिल्मका दुई मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पालाई नचाइएको छ। भिडियोको कोरियोग्राफर कविराज गहतराज हुन्। यसअघि गीतको केही दृश्य बागलुङमा छायांकन गरिएको थियो, तर निर्माण पक्षले पुरानो दृश्य प्रयोग नगरी नयाँ शैली र तरिकामा भिडियो खिचेको छ।
गायिका सञ्जीवनीको स्वरमा तयार गरिएको गीत सार्वजनिक नहुँदै निर्माण पक्षले यसमा नृत्य प्रतियोगिता पनि घोषणा गरेको छ। प्रतियोगितामा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो तयार पार्ने सहभागीमध्ये उत्कृष्टलाई ५ लाख रुपैयाँ पुरस्कार दिइने छ।
६ दशकअघि बनेको फिल्म ‘माइतीघर’मा रहेको ‘वसन्त नै बस्न खोज्छ…’ गीतमा भारतीय गायिका आशा भोसलेको स्वर रहेको थियो।
मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा उपासना र श्यामाश्रीसहित केदार घिमिरे, धीरज मगर, प्रकाश सपूत, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ लगायतको अभिनय छ। फिल्मको संयुक्त लगानी रविन शेरचन र धीरज तामाङले गरेका हुन् भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्। सुशन प्रजापतिले फिल्मको छायांकन गरेका छन्।























