काभ्रे । भाद्र कृष्ण औँसीमा गोकर्णेश्वरमा हजारौँ भक्तजनको घुइँचो | काठमाडौँ, भाद्र कृष्ण औँसीको अवसरमा दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृतीर्थधाममा हजारौँ भक्तजनको घुइँचो लागेको छ।
यस दिन गोकर्णेश्वरमा पिण्डदान र तर्पण गरे २१ पुस्ताअघिका पितृ समेत तर्ने धार्मिक विश्वासका कारण विहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी मात्र नभई बौद्ध धर्मावलम्बी पनि उपस्थित भएका छन्। बौद्धमार्गीहरूले दिवङ्गत पिताको स्मरणमा श्राद्ध तथा पूजाआजा गर्ने चलन रहिआएको छ।
गोकर्णेश्वरमा भीड बढेसँगै सुन्दरीजल–जोरपाटी र वाग्मती कोरिडोर हुँदै आउने सवारी साधन रोकिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ। मन्दिर क्षेत्रमा यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालनलगायत आवश्यक सुविधा उपलब्ध गराइएको गोकर्णेश्वर मेला समितिले जनाएको छ।
मन्दिरका पूजारी जगदीश भट्टका अनुसार सत्ययुगमा ब्रह्माले स्थापना गरेको मानिने यस तीर्थस्थलमा आजको दिन पिण्डदान गरे अगति परेका पितृ पनि तर्ने विश्वास छ। भक्तजनले भने पवित्र स्थलको महत्त्व रहे पनि व्यवस्थापन अभावका कारण मेलामा दुर्गम स्थानबाट आउनेलाई असुविधा भएको गुनासो गरेका छन्।
आजैको दिनलाई गोकर्णे औँसी भनिन्छ। हिन्दू धर्मावलम्बीले घरमा धार्मिक कृत्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। साथै बाबुलाई मीठो खान दिई बाबुको मुख हेर्ने पर्व समेत आज देशभर मनाइँदैछ।



















