काभ्रे । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार जिल्लाको १३ वटा स्थानीय तह माध्ये खानीखोला गाउँपालिका उत्कृष्ट भएका हुन् ।
प्रारम्भिक नतिजामा समेत उत्कृष्ट अंक प्राप्त गरेको गाउँपालिकाले मन्त्रालयको गुणस्तरीय परीक्षणपछि अन्तिम नतिजा अनुसार उत्कृष्ट नम्बर कायम राख्दै काभ्रे जिल्ला भरिकै एक उत्कृष्ट हुन सफल भएको हो ।
खानीखोलाले विगतका वर्षदेखि नै योजना निर्माणमा सहभागिता, विकास आयोजना कार्यान्वयनमा पारदर्शिता, संस्थागत क्षमता, सेवा वितरण, जनउत्तरदायित्व र समावेशितालाई प्राथमिकतामा राख्दै आएको कारणले गाउँपालिकाले पुनः उत्कृष्ट नतिजा ल्याउन सफल भएको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ)ले बताए । साथै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र सम्पूर्ण सरोकारवालाको संयुक्त प्रयासकै कारण यो उपलब्धि सम्भव भएको समेत बताए ।
स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन लिसाले मूल्याङ्कन गरिँदै आएको छ । सोही मूल्याङ्कनको अन्तिम नतिजाअनुसार खानीखोला गाउँपालिकाले काभ्रे जिल्लाकै उच्चतम अंक हासिल गरेका हुन् ।



















