काभ्रे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८.०२ अंकले घटेर २,७३९.९५ मा पुगेको छ । परिसूचक ०.६५ प्रतिशतले ओरालो लागेको हो ।
आज ३२३ कम्पनीका एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक किनबेच हुँदा जम्मा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५.९२ रुपैयाँको कारोबार भएको छ ।
समूहगत सूचकमा उत्पादन तथा प्रशोधन समूह मात्र ०.१५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहमा गिरावट देखिएको छ । बैंकिङ ०.८८, विकास बैंक १.६९, वित्त ०.५३, होटल तथा पर्यटन ०.६८ र जलविद्युत् १.१९ प्रतिशतले घटेका छन् । त्यस्तै, लगानी ०.७८, जीवन बीमा ०.४४, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.१६, निर्जीवन बीमा ०.५०, व्यापार ०.१९ र अन्य समूह ०.१० प्रतिशतले ओरालो लागेका छन् ।
कम्पनीगत कारोबारमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक ७.२९ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर संख्याका हिसाबले हिमालयन डिस्टिलरी लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भई करिब १ अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।



















