काभ्रे । सुदूरपश्चिमेलीको प्रमुख पर्व गौराआजबाट सुरु भएको छ। पञ्च अन्न (बिरुँडा) भिजाएर आजैबाट गौरा पर्वको सुरुवात गरिन्छ। पहिलो दिनलाई बिरुणपञ्चमीभनिन्छ।
यस दिन महिलाहरू बिहानै स्नान गरी घरघरमा बिरुँडा राख्ने परम्परा छ। घरको कोठा गाईको गोबरले लिपेर तामा वा पित्तलका भाँडामा पाँच ठाउँमा गोबर र दुबो लगाई टीका–अक्षता चढाइन्छ। त्यसपछि धूप–बत्ती बालेर गहुँ, मास, गहत, गोरस र कलौ मिलाएर पञ्च अन्न (बिरुँडा) भिजाई भगवान महेश्वरको आह्वान गरिन्छ।
यस दिन महिलाहरू माङ्गलिक गीत गाउँदै गाउँका पँधेरो, खोला, नदी आदिमा गएर बिरुँडा भिजाउँछन्। त्यहाँ धान, साउँ, तिल, बेल र पाती मिलाएर पञ्च वनस्पतिको पुत्ला बनाई पूजा गर्ने चलन छ। त्यसपछि बिरुँडा लिएर माङ्गल गीत गाउँदै घर फर्किन्छन्। विवाहित महिलाले गौरा पर्वमा व्रत बसेर कण्ठ सूत्र धारणा गर्ने, पुरुषहरूले गायत्री मन्त्र जप गरेर भोजन गर्ने परम्परा रहेको छ।
भोलि षष्ठीको दिन बिरुँडा नदी, ताल, तलाउ वा धारा आदिमा लगेरे धोइन्छ। सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर परिवारको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै महेश्वरको पूजा गर्छन्। सात गाँठो परेको दूर्वासहितको दुवधागो (कण्ठ सूत्र) पञ्चगव्य अभिषेक गरी गौराको खुट्केलामा राख्ने प्रथा छ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सिँगारेका महिलाले गौराको प्रतिमालाई रेसमी कपडाले सजाएर महेश्वरसहित बाहिर ल्याई आसनमा राख्छन्। त्यसपछि आठ अध्याय र आठ खण्ड भएको अठेबाली पूरा गरी गौरालाई शिरमा राखेर नाच्ने प्रथा चलनमा छ।
गौरा पर्वमा देउडा खेल र ठाडो भाका गाएर रमाइलो गरिन्छ। बिरुँडा प्रसादका रूपमा आफन्तलाई बाँडिन्छ र भोलिपल्ट देउडा गीत गाइदै खेलकूदमा सहभागी हुने गरिन्छ। यस अवसरमा नयाँ कपडा लगाउने, सेल, पुरी, माणा, खीर, मालपुवा, बटुकजस्ता परिकार खाने परम्परा पनि रहिआएको छ।



















