काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन्।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बिहान चीनतर्फ प्रस्थान गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीलाई बिदाइ गरेका थिए।
प्रधानमन्त्रीको बिदाइका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि उपस्थित थिए।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन गएका नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेका छन्।



















