काभ्रे । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन बर्तालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउने परम्परा पुरा गर्दैछन्। यस दिनलाई स्थानीय भाषामा ‘भितरीकी गौरा’ वा ‘ठूली गौरा’ भनिन्छ र बर्तालु महिलाहरूले विशेष दिनका रूपमा मनाउने गर्छन्।
संस्कृतिविद् आचार्य विष्णुदत्त भट्टका अनुसार महिलाहरू बिहानै स्नान गरी बेलुकी गौरादेवीलाई गौराघरमा भित्र्याउने चलन रहिआएको छ। आज अमुक्ताभरण सप्तमी भएकाले महिलाहरू एकै ठाउँमा भेला भई फाग गाएर पूजा गर्छन्। यस दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरी फलफूल र बिरुडाले पूजा गर्ने प्रथा छ।
बर्तालु महिलाले धारण गर्ने विशेष धागो ‘दुबधागो’ पनि आजै गौरादेवीमा चढाउने परम्परा छ। खेतबारीबाट साउ, अपामार्ग, तिललगायतका वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाई पूजापछि गौराघरमा भित्र्याइन्छ। पुरुषहरूले जनै धारण गरेजस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने प्रचलन रहेको पण्डित जयानन्द भट्टले बताए।
साँझमा बर्तालु महिलाले कुण्ड स्नान गर्ने र आज चढाइएको दुबधागो भोलि दुर्वाष्टमी (अठ्यावाली) का दिन धारण गर्ने गरिन्छ। नयाँ दुबधागो आज समर्पण गरी भोलि पूजा सकिएपछि धारण गर्ने परम्परा छ।
सप्तमीको दिनलाई गौरापर्वको मुख्य दिन मानिन्छ। यस अवसरमा गौरा र महेश्वरको पूजा गरी महिलाहरूले राति विशेष परिकार खाने चलन छ। भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गरिन्छ।
गौराको समयमा ढुस्को, धमारी, चैतजस्ता मौलिक खेलहरू खेल्ने प्रचलन छ। सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने यो पर्वका अवसरमा परदेशिएका परिवारजन पनि घर फर्कने गर्छन्।



















