काभ्रे । नाइजेरियाको उत्तर–मध्य क्षेत्रको नाइजर राज्यमा डुंगा पल्टिँदा कम्तीमा ६० जनाको ज्यान गएको छ भने धेरै व्यक्तिहरू अझै हराइरहेका छन्। स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार उद्धार कार्य जारी छ र मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बोर्गु स्थानीय प्रशासनका अध्यक्ष अब्दुल्लाही बाबा अराले ६० जनाको मृत्यु पुष्टि गर्दै घटनामा गम्भीर घाइते १० जना रहेको बताए। नाइजर राज्य आपत्कालीन व्यवस्थापन निकायका अनुसार उद्धारकर्मी र स्थानीय गोताखोरहरू हराइरहेका व्यक्तिहरूको खोजीमा खटिएका छन्।
यो दुर्घटना मंगलबार बिहान ११ बजे (स्थानीय समय) गाउसावा समुदाय नजिक भएको हो। अत्यधिक यात्रु बोकेको डुंगा रूखको ठुटोमा ठोक्किएपछि पल्टिएको बताइएको छ। डुंगामा १०० भन्दा बढी मानिस सवार थिए, जसमा मृतकमध्ये धेरैजसो महिला र बालबालिका भएको शगुमी क्षेत्रका प्रमुख सादु इनुवा मोहम्मदले जानकारी दिए।
नाइजेरियामा यस किसिमका डुंगा दुर्घटनाहरू बारम्बार हुने गरेका छन्। यसको प्रमुख कारणमा बढी भार, प्रतिकूल मौसम र सञ्चालनमा लापरबाही हुने गरेको अधिकारीहरूले जनाएका छन्।



















