सोमबार, बैशाख ०७, २०८३
स्याउ टिपाइमा रमाएका जुम्ली किसान, दिनरात लागिपरे

काभ्रे । जुम्लाका आठ स्थानीय तहका स्याउ किसान अहिले बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ छन्। स्याउ पाकेपछि व्यापारीहरू घरमै पुगेर खरिद गर्न थालेका छन्।
तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार यस वर्ष उत्पादन करिब ४० प्रतिशत घटेको छ। “बगैँचाको स्याउ प्रतिकिलो ६५ रुपैयाँमा बिक्री थालेका छौँ,” उनले बताए।

हिमा गाउँपालिकाका व्यापारीहरूले करिब ६०० कार्टुन स्याउ खरिद गरिसकेका छन्। कृषि विकास कार्यालय जुम्लाले यस वर्ष करिब १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरेको छ, जसबाट झण्डै ४५ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा छ।

जुम्लामा ४ हजार १२० हेक्टर क्षेत्रफलमध्ये २ हजार ९०० हेक्टरमा स्याउखेती हुन्छ। यहाँ उत्पादित स्थानीय जातका साथै गोल्डेन, फुजी, गाला, जोनाप्रिन्स जातका स्याउ तराईका बजारमा पुग्ने गरेका छन्। करिब १८ हजार घरधुरी स्याउखेतीमा निर्भर रहेको कार्यालयले जनाएको छ।

महिलालाई तरकारीखेतीले आत्मनिर्भर बनायो

यसैबीच, जुम्लाका महिलाहरू तरकारीखेतीतर्फ आकर्षित भएका छन्। वल्र्ड भिजन इन्टरनेशनल र किर्डाक नेपालले सञ्चालन गरेको परियोजनाले सीपमूलक तालिम र प्रविधिक सहयोग गरेपछि महिलाले तरकारीखेतीलाई आयआर्जनको माध्यम बनाएका हुन्।

तिला गाउँपालिका–८ का महिलाले गत वर्ष मात्रै गोलभेँडालगायत तरकारी बिक्री गरेर करिब एक लाख रुपैयाँ आम्दानी गरेका छन्। उत्पादन भएको तरकारी स्थानीय बजारदेखि सदरमुकाम खलङ्गा पुर्‍याइन्छ।

स्थानीय शोभा बस्नेतका अनुसार जलवायु मैत्री प्रविधिको प्रयोगले उत्पादन बढेको छ भने, लक्ष्मी रावतले हाते ट्र्याक्टर पाएपछि काम सहज भएको बताइन्। तर, यातायात सुविधा अभावमा तरकारी बजारसम्म पुर्‍याउन भने समस्या रहेको किसानहरूले गुनासो गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय