काभ्रे । नेकपा एमालेको जारी विधान महाधिवेशनको दोस्रो दिन आज थप तीन प्रतिवेदन पेस हुने भएका छन् ।
आज ८ बजेबाट महाधिवेशन सुरु हुने र १० बजे प्रतिवेदन पेस गरिसकेर समूहगत छलफल थाल्ने तयारी छ । जसमा निर्वाचन आयोग, लेखा र अनुशासनको आयोगका प्रतिवेदन पेस हुने बताइएको छ ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको फरक मत भने पहिलो दिन नै पेस हुने कार्यसूची भए पनि पेस हुन सकेन । पहिलो दिन उद्घाटनसँगै चार वटा प्रतिवेदन मात्र पेस भएका छन् । जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव शङ्कर पोखरेलको सांगठानिक र सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराको प्रतिवदन पेस भएका हुन् ।
महाधिवेशनको समसामियक प्रस्ताव लेखनको संयोजकको जिम्मेवारी भने योगेश भट्टराईलाई दिइएको छ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।



















