काभ्रे । सुशासनलगायत विभिन्न मुद्दा उठाउँदै भएको जेनजी आन्दोलनका कारण देशले ठूलो मानवीय र भौतिक क्षति व्यहोरेको छ। राज्यका तीन अङ्ग—कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका—र पत्रकारितामाथि आक्रमणसँगै निजी सम्पत्तिमा समेत क्षति पुगेको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनले अस्पतालहरूमा ठूलो सङ्ख्यामा घाइते भर्ना हुनुका साथै मुलुकको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा गम्भीर असर पारेको छ। पर्यटकीय सिजन सुरु हुनै लाग्दा धेरै बुकिङ रद्द भएका छन् भने करिब २५ अर्ब बराबरको होटल व्यवसायमा नोक्सानी भएको छ।
तर, विज्ञहरू भने परिस्थितिले पर्यटन क्षेत्रलाई दीर्घकालीन रुपमा धेरै असर नगर्ने विश्वास व्यक्त गर्छन्। पदयात्रा, धार्मिक र साहसिक पर्यटनमा प्रत्यक्ष असर नपरेको भन्दै उनीहरूले सकारात्मक प्रचार–प्रसारमार्फत चाँडै पुनःरुत्थान सम्भव हुने बताएका छन्।
नेपाल पर्यटन बोर्ड, होटल सङ्घ, पाटा नेपाल च्याप्टरलगायत सरोकारवालाले पर्यटन पुनःउभारका लागि योजनाबद्ध पहल थालेका छन्। हालैका विपद्मा पनि छिट्टै उठेको अनुभवका आधारमा पर्यटन क्षेत्र फेरि चलायमान हुने विश्वास गरिएको छ।



















