मंगलबार, बैशाख ०८, २०८३
यातायात सहज: बीपी राजमार्ग भोलीदेखि २४ घण्टा खुल्ने

काभ्रे । यस वर्षको मनसुन सुरु भएपछि रातिको समयमा जोखिमका कारण रोक लगाइएको बीपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन सकिँदै गरेको अवस्था र दशैं–तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै राजमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुको सहजता सुनिश्चित गर्न सडक सुरक्षामा कडाइका साथ स्वीकृत कार्ययोजना लागू गरिने समितिले जनाएको छ।

गत असार पहिलो सातादेखि बाढी–पहिरोको उच्च जोखिमका कारण राजमार्गमा रातिको समयमा १२ घण्टा सवारी सञ्चालन रोकिएको थियो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रातिको यातायातमा रोक लगाइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थान जोखिमपूर्ण भएकाले यतिबेला राति आवतजावत रोकिएको थियो। काठमाडौँबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र काठमाडौँ फर्किने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोकिएको थियो।

यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायले अन्तरजिल्ला समन्वय गर्दै असार ७ गतेदेखि रातिको समयमा राजमार्ग बन्द गर्ने निर्णय गरेका थिए। साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिएको थियो।

गत वर्ष असोजमा आएको बाढीपहिरोले राजमार्गका ८४ किलोमिटर खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। चौकीडाँडाबाट वर्षेखोला हुँदै नेपालथोकसम्मका सडकहरू बगाउँदा अस्थायी रूपमा मात्रै आवागमन सञ्चालनमा आएको थियो।

कार्यालयले क्षतिग्रस्त खण्ड स्थायी निर्माणका लागि चार भागमा ठेक्का प्रक्रिया अघि बढाइरहेको छ। पूर्वी नेपाललाई छोटो दूरीबाट जोड्ने महत्वपूर्ण मार्ग भएकाले बीपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय