बिहिबार, बैशाख १७, २०८३
अरनिको राजमार्गको जनागाल–भैँसेपाटी खण्डमा कालोपत्र पुनः सुरु, छ–लेन विस्तार समयमै नसकिने

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको काभ्रेपलाञ्चोकस्थित जनागाल–भैँसेपाटी भागमा कालोपत्र सुरु गरिएको छ । वर्षाका कारण रोकिएको काम बनेपा नगरपालिका–१० को जनागाल क्षेत्रमा पुनः थालिएको हो।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका अनुसार भदौमा सिसिटीबीको काम सकिएपछि कालोपत्र सुरु गरिएको हो। असार र साउनमा मनसुनका कारण विस्तार रोकिएको थियो। जनागालबाट भैँसेपाटीतर्फ कालोपत्र अघि बढाइएकाले साँगातर्फको सिसिटीबीको कामपछि यसलाई निरन्तरता दिइनेछ।

बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीय अवरोधका कारण काम रोकिएको छ। करिब २०० मिटर क्षेत्रमा सेन्टर लाइनको विषयमा विवाद भएपछि विस्तार ठप्प भएको हो। बाटोको चौडाइ १५० फिट भए पनि स्थानीयले दुवैतर्फ घर बराबरी छुट्याउनुपर्ने माग राखेपछि विवाद उत्पन्न भएको बताइएको छ।

हाल बनेपाको पूर्वतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकमा ढल निर्माण भइरहेको छ। पुलबजारबाहेक सूर्यविनायक–धुलिखेल सडकका अन्य स्थानमा साना खण्डमा काम जारी छ। एक किमी क्षेत्रमा सडक पक्की बनाउने, वाल, ड्रेन र पेभमेन्टको काम सकिएको र चाँडै बनेपातर्फ कालोपत्रको तयारी भइरहेको जनाइएको छ।

यस्तै, भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको छ-लेन विस्तार समयमै नसकिने भएको छ। आयोजनाका अनुसार बाँकी करिब चार महिनामा विस्तार सम्पन्न गर्न सम्भव छैन।

१६ किलोमिटर लम्बाइको यो सडक विस्तार २०७९ पुस २४ देखि सुरु गरिएको हो र ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो। परियोजना सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौताअनुसार विस्तार भइरहेको छ। हाल सूर्यविनायक–साँगा खण्डको ४० प्रतिशत र साँगा–धुलिखेल खण्डको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ। बनेपाको सहरी क्षेत्रमा पुल र व्यक्तिगत घर विवादका कारण ढिलाइ भएको र समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक काम सम्पन्न हुने अनुमान गरिएको छ।

पहिलो चरणमा साँगा–धुलिखेल ८.४ किमी सडक विस्तारका लागि रु ४ अर्ब ५ करोड ६४ लाख र दोस्रो चरणमा सूर्यविनायक–साँगा सडक विस्तारका लागि रु ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय