काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेले ४४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन संघका अध्यक्ष अमन पोटे श्रेष्ठले गरेका थिए। उनका अनुसार संघको स्थापना २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भई भएको हो। हाल यसको केन्द्रीय कार्यालय बनेपा–७ मा रहेको छ भने पाँचखाल, भकुण्डे र पनौतीमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ।
संघले जिल्लाभरका सहकारी संस्थाहरूसँगको सहकार्यलाई सहज, मर्यादित र व्यवस्थित बनाउन पारदर्शी अभियान अघि बढाइरहेको जानकारी दिइएको छ।
गत आर्थिक वर्षमा संघले कूल १ अर्ब ४१ करोड ६९ लाख १ हजार ९४२ रुपैयाँको कारोबार गरी १ करोड १४ लाख ६७ हजार ४३० रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षका लागि संघले १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैयाँ कारोबार गर्ने र २ करोड ६ लाख ९८ हजार ८८२ रुपैयाँ नाफा गर्ने लक्ष्य लिएको छ।
संघमा हालसम्म काभ्रेका १३ वटै स्थानीय तहबाट ५९४ वटा सहकारी संस्था आबद्ध भएको संघका सचिव प्रकाश बञ्जाराले जानकारी दिए ।
वार्षिक कार्यक्रममा सहकारी क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने परम्पराअनुसार यस वर्ष काभ्रे टाइम्सका पत्रकार रमेश न्यौपानेलाई सम्मान गरिएको छ। विगत २७ वर्षदेखि पत्रकारितामार्फत निरन्तर सूचना प्रवाह गर्दै आएको योगदानका लागि उनलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।
कार्यक्रममा संघका सल्लाहकार एवम् पूर्वअध्यक्षहरू, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।



















