मंगलबार, बैशाख ०८, २०८३
दशैं नजिकिएसँगै राजधानीबाट यात्रु बाहिरिने संख्या बढ्यो

काभ्रे । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्ला पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत ती यात्रु उपत्यकाबाट विभिन्न गन्तव्यतर्फ गएका हुन् ।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, व्यापार–व्यवसाय तथा रोजगारीका सिलसिलामा काठमाडौँ आएका धेरै मानिस दशैं मनाउन घर फर्किन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू बाहिरिएका छन् ।

उक्त अवधिमा असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु काठमाडौँ छाडेको कार्यालयले जनाएको छ ।

तर, सडकको खराब अवस्थाले यात्रामा समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बर्खाका कारण राजमार्गमा पहिरो खस्दा घण्टौँसम्म बस बाटोमा रोकिनुपर्ने बाध्यता आएको बताए । मुग्लिङ–नारायणघाट सडक खण्डमा बारम्बार पहिरो जाँदा समयमै बस नआएर यात्रुलाई गन्तव्य पुर्‍याउन कठिनाइ भएको भन्दै उहाँले सरकारलाई तत्काल सडक मर्मत र सञ्चालनमा ध्यान दिन आग्रह गर्नुभयो ।

यता, नयाँबसपार्क गोङ्गबुमा पनि यात्रुको चाप तीव्र रूपमा बढेको छ । नयाँबसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार सामान्यतया दैनिक ४–५ हजार यात्रु बाहिरिने गरेकामा अहिले सो संख्या बढेर १५ हजारभन्दा बढी पुगेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय