काभ्रे । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज सिंहदरबारमा आगामी फागुन २१ गते तय भएको निर्वाचन तयारीबारे छलफल गरे ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनका विषय उठाए। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले अवरोधहरू पहिचान गरी समाधान गर्नुपर्ने बताए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रभावकारी समन्वयका लागि प्रारम्भिक कुराकानी भएको र निरन्तर छलफल जारी रहने जनाए। आयोगले स्वच्छ, निष्पक्ष र मितव्ययी निर्वाचनको प्रतिबद्धता व्यक्त गर्दै मतदाता नामावली ऐन संशोधन र स्रोत सुनिश्चितताका लागि सरकारसँग आग्रह गर्दै आएको छ। हालसम्म १८ वर्ष पुगेका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० पुगेको छ।
यसअघि आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग मतदाता नामावली खुला र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने उपायबारे छलफल गरिसकेको छ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन घोषणा गरेको हो।



















