काभ्रे ।राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं रुटमा नियमित उडान सञ्चालन गरिएको हो।
निगमले असोज ९ गतेदेखि ग्वाञ्जाओ उडान गर्ने तयारी गरेको भए पनि प्राविधिक कारणले उद्घाटन उडान ढिला भई शनिबार मात्र सम्पन्न भएको हो। उद्घाटन उडानमा सहभागी हुने यात्रु र पाहुनाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको अवस्थामा उडान स्थगित भएपछि निगमले उनीहरूको व्यवस्थापन गरेको थियो।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार शनिबार दिउँसो काठमाडौंबाट उडेको जहाज ग्वाञ्जाओ पुगेर १०७ यात्रु लिएर आइतबार फर्किएको छ। निगमले हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज १२ गते, दोस्रो असोज ३० गते र तेस्रो तथा चौथो क्रमशः कात्तिक २ र ६ गते हुनेछन्। त्यसपछि प्रत्येक आइतबार, मंगलबार र शनिबार काठमाडौं–ग्वाञ्जाओ सिधा उडान हुनेछ। काठमाडौं–ग्वाञ्जाओ एकतर्फी भाडा रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको छ।
हाल यस गन्तव्यमा चीनको चाइना साउदर्न एयरलाइन्स र नेपालतर्फबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्दै आएका छन्। नेपालीहरूको उपस्थिति बढी रहेको ग्वाञ्जाओमा नेपाल एयरलाइन्सको उडानले निगमलाई आर्थिक लाभ दिलाउने अपेक्षा गरिएको छ।
ग्वाञ्जाओ उडानसँगै नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय गन्तव्य नौ देशका ११ स्थान पुगेको छ। निगमले आफ्ना दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत दोहा, क्वालालम्पुर, दुवई, हङकङ, दिल्ली, मुम्बई, बैंगलोर, बैंकक, दमाम र टोकियो (नारित्ता) मा नियमित सेवा दिँदै आएको छ।
























