दाङमा मतदाता नामावली दर्ता गराउनेको भीड

दाङ । घोराहीस्थित लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीड बढ्न थालेको छ। सरकारले मतदातासम्बन्धी नयाँ नियम लागू गरेपछि नाम दर्ता गराउन आउनेको सङ्ख्या तीव्र रूपमा वृद्धि भएको कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन्।

कार्यालयका अनुसार दसैँअघि दुई दिन र सोमबारको पहिलो दिन गरी १३३ जना नयाँ मतदाता नामावलीमा थपिएका छन्। साथै, १६३ जनाले अग्रिम फारम भरेका तर बायोमेट्रिक प्रक्रिया बाँकी रहेको पनि कार्यालयले जनाएको छ। सूचना अधिकारी कुँवरका अनुसार पालिकास्तरमा मतदाता नामावली दर्ता विस्तार गर्न सकिए जिल्लामा उल्लेख्य सङ्ख्यामा नयाँ मतदाता थपिने अपेक्षा गरिएको छ।

यसअघि, पालिकास्तरमै मतदाता दर्ता अभियान सञ्चालन गरिएको २०७९ सालको निर्वाचनमा दाङमा ५४ हजार नयाँ मतदाता थपिएका थिए। सो निर्वाचनमा दाङ क्षेत्र नम्बर १ मा १ लाख ३४ हजार ७३३, क्षेत्र नम्बर २ मा १ लाख ३३ हजार ७४८ र क्षेत्र नम्बर ३ मा १ लाख ४६ हजार ४७५ गरी जम्मा ४ लाख १४ हजार ९५६ मतदाता रहेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय