बाढीपहिरोले बिपी राजमार्ग अवरुद्ध, यात्रुहरू भिरपाखा र खोलामार्ग हुँदै पैदल यात्रामा

काभ्रे । असोज १८ र १९ गतेको वर्षाबाट उत्पन्न बाढीले काभ्रेपलाञ्चोकको रोशी खोलामा व्यापक क्षति पुर्‍याएपछि बिपी राजमार्गमा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।

बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि अहिले सो राजमार्गमा पैदल यात्रासमेत निकै कठिन बनेको छ। भकुन्डे–नेपालथोक सडकखण्डका करिब २० किलोमिटर क्षेत्रमा ठूलो क्षति पुगेको छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू तीन दिनदेखि खोलाको किनार र भिरपाखा पार गर्दै हातगोडा टेकेर गन्तव्यतर्फ हिँड्न बाध्य भएका छन्।

दसैँ मनाउन घर फर्किरहेका यात्रुहरू ग्रामीण सडकसमेत अवरुद्ध भएपछि घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यतामा छन्। धुलिखेलदेखि चौकीडाँडासम्म सवारीसाधन चलिरहेका भए पनि त्यसपछिको खण्ड पार गर्न कठिन भएको यात्रुहरू बताउँछन्। भिमखोरीका राजेन्द्र श्रेष्ठले भने, “भिर चढ्दै चौकीडाँडा पुग्नुपर्‍यो, महिला र बालबालिकालाई त झन् निकै गाह्रो भइरहेको छ। यदि गोरेटो बाटो बनाउन सकियो भने केही राहत मिल्थ्यो।”

स्थानीय प्रहरीका अनुसार तीन दिनमा करिब दुई हजारभन्दा बढी यात्रु चौकीडाँडा हुँदै पैदल हिँडिसकेका छन्। बिरामीहरूलाई सुरक्षाकर्मीले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लैजाने गरेका छन्।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बाढीपहिरोले राजमार्गका १७ स्थानमा क्षति पुर्‍याएको छ। हाल रोशी र नमोबुद्धको समन्वयमा अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ। रोशी खोलाको बहाव कम हुँदै गएपछि मङ्गलबारदेखि डाइभर्सन निर्माण कार्य अघि बढाइएको हो।

इञ्जिनियर बिन्दु अधिकारीका अनुसार सडकको अवशेष नै नरहेकाले खोलाको किनारभन्दा माथिल्लो भागमा नयाँ डाइभर्सन बनाउनुपर्ने भएको छ। सिन्धुलीको नेपालथोकतर्फ पनि दुईवटा स्काभेटर प्रयोग गरी अस्थायी सडक निर्माण सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो।

डिभिजन सडक कार्यालय खाल्टेले क्षतिग्रस्त सडक स्थायी पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। पूर्वी नेपाललाई राजधानीसँग जोड्ने छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन गुड्ने भएकाले छिटो मर्मत र सञ्चालन अत्यावश्यक बनेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय