काभ्रे । जिल्लाको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नेपाली विद्यार्थीहरु विदेशिने क्रम बढिरहेको बेला केयूमा भने विद्यार्थीको आकर्षण देखिएको छ । सोही कारण यो वर्षमात्र करिब १ हजार विद्यार्थी थपिने विश्वविद्यालयले जनाएको छ ।
‘हामीले पूर्ण क्षमतामा विद्यार्थी भर्ना गर्दा केही हदसम्म बाहिर जाने विद्यार्थीको संख्या कम हुने देखिएकाले यस वर्ष भर्नादर बढाएका छौं’ केयूका उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेले आज आयोजित पत्रकार अन्तरक्रियामा भने, ‘गत वर्ष ५ हजार भन्दा बढी विद्यार्थी भर्ना भएकोमा यो वर्ष ६ हजार नाघ्ने प्रक्षेपण गरेका छौं ।’ वाग्लेका अनुसार यस वर्ष इन्जिनियरिङमा गत वर्षको तुलनामा ३०० भन्दा बढी नयाँ विद्यार्थी र विज्ञानमा ९० भन्दा बढी विद्यार्थीले भर्ना पाएका छन् ।
यस्तै आर्टस, म्यानेजमेन्ट र एजुकेसनमा करिव ३०० विद्यार्थी थपिने अपेक्षा गरिएको छ । मेडिकल साइन्सेजमा राष्ट्रिय चिकित्सा परिषद्को स्वीकृतिका आधारमा ४०० भन्दा वढी अतिरिक्त सिट थपिने अपेक्षा गरिएको वाग्लेले जानकारी दिए ।
केयूमा यसैपटक ठूलो संख्यामा विदेशी प्राध्यापकसमेत प्राध्यापनका लागि आउँदै छन् । विगतमा केही समयका लागि प्राध्यापक आउने र केही कक्षा लिएर फर्कने गरेकोमा यसपटकदेखि कम्तीमा एक सेमेष्टरभरिका लागि विदेशी प्राध्यापक नियुक्त गर्न लागिएको छ । उपकुलपति वाग्लेका अनुसार विश्वविद्यालयले २०२५ जुलाईमा कम्तीमा एक सत्रका लागि विश्वविद्यालयमै उपस्थित भई अध्यापन गर्न इच्छुक विदेशी प्राध्यापकहरूबाट अभिरुचि आह्वान गरेको थियो ।
विश्वभरका ४५० भन्दा बढी प्राध्यापकहरूबाट अभिरुचि प्राप्त भएको उनले बताए । विश्वविद्यालयले यस शैक्षिक सत्र (२०८२÷८३) का लागि १२ जना विदेशी प्राध्यापक नियुक्त गरेको छ । स्कुल अफ आर्टस, स्कुल अफ एजुकेसन, स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ साइन्समा प्राध्यापकहरू नियुक्त भइसकेका छन् । ताइवान, भारत, अमेरिका, चीन, दक्षिण कोरिया लगायत देशका प्राध्यापकहरूले केयूमा अध्यापन गर्नेछन् ।
विश्वविद्यालयले निकट भविष्यमा विदेशी प्राध्यापकको संया १० प्रतिशत बनाउने लक्ष्य राखेको वाग्लेले बताए । वाग्लेका अनुसार यो वर्ष विदेशी विद्यार्थी भर्नाको कोटासमेत पुरा गर्ने लक्ष्या राखिएको छ । सोहीअनुसार यो वर्ष ४२ जना विदेशी विद्यार्थी एमबिबिएसमा भर्ना हुनेछन् । केयूले शिक्षाको अन्तर्राष्ट्रियकरणमा सुरुआतदेखि नै जोड दिदै आएको छ । विगत तीन दशकमा विश्वविद्यालयबाट दीक्षित हुनेमध्ये १२ प्रतिशत विद्यार्थी विदेशी रहेका छन् ।
हालसम्म ५५ देशका करिव ५ हजार ६ सय ६० विद्यार्थी विश्वविद्यालयवाट दीक्षित भएका छन् । साथै ४१ देशका २९० भन्दा बढी अन्तर्राष्ट्रिय प्राज्ञिक तथा अनुसन्धानमा आधारित संख्याहरूसँग विश्वविद्यालयको सहकार्य रहेको विश्वविद्यालयले जनाएको छ ।



















