० बिष्णु थापा । नेपालका सडकहरूमा ट्राफिक प्रहरीको नियमित चेकजाँचका क्रममा बारम्बार सुनिने एउटा साझा तर चिन्ताजनक उत्तर हो –“हामी लोकल हो, यहीँ जान लागेको, त्यहीँ सम्म हो…”। यस्तो उत्तर केवल एउटा बहाना होइन, बरु हाम्रो समाजमा मौलाएको गैरजिम्मेवार र नियमविहीन मानसिकताको स्पष्ट प्रतिबिम्ब हो। सडकमा हुने अधिकांश सवारी दुर्घटनाहरूमा नियम उल्लंघन प्रमुख कारण बनेका छन्, तर हामी अझै पनि “हामी लोकल” भन्ने आत्मसन्तुष्ट वाक्यमा ढुक्क छौं।
यो सोचले अधिकार र जिम्मेवारीबीचको सिमानालाई धुमिल बनाइदिएको छ । हेल्मेट नलगाउने, एकै मोटरसाइकलमा तीन जना सवार हुने, चालक अनुमति पत्र बिना सवारी हाँक्ने वा सवारी नियमलाई सामान्य ठान्ने प्रवृत्तिले सडक सुरक्षाको जरा नै हल्लाइरहेको छ। अझ दुखद पक्ष त के भने, स्थानीय तहका जनप्रतिनिधि वा प्रभावशाली व्यक्ति स्वयंले पनि कहिलेकाहीँ यस्तो गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्छन्।
जब नेतृत्व स्तरमै नियम तोड्ने उदाहरण देखिन्छ, तब साधारण नागरिकलाई नियम पालनको प्रेरणा कहाँबाट मिलोस्? आउनुहोस् आजको यो अंकमा आ-आफ्नो भूमिकाको बारेमा जानकारी राखौं ।
-
अभिभावकको भूमिका
अनुशासनको पहिलो पाठशाला परिवार हो । सडक सुरक्षाको चेतना विद्यालय वा प्रहरीबाट मात्र आउँदैन, यसको बीउ घरमै रोपिनुपर्छ। अभिभावकले आफ्ना सन्तानलाई सवारी चलाउँदा हेल्मेट अनिवार्य लगाउने, लाइसेन्स बिना सवारी नचलाउने र ट्राफिक नियमको सम्मान गर्ने बानी सानैदेखि सिकाउनुपर्छ। जब बच्चाले बुबा-आमालाई ट्राफिक संकेत तथा चिन्हमा रोकिएको देख्छ, तब नियमको वास्तविक अर्थ बुझ्छ। अभिभावक स्वयंले ‘छोटो बाटो हो, के हुन्छ र?’ भन्ने सोच त्यागे मात्र बालबालिकामा जिम्मेवारीको बोध तथा विकास हुन्छ।
-
समाज र सामूहिक उत्तरदायित्व
सडक सुरक्षा केवल व्यक्तिगत जिम्मेवारी होइन, सामाजिक प्रतिबद्धता पनि हो। विद्यालय, धार्मिक संस्था, स्थानीय सरकार र सामाजिक संघसंस्थाले सडक सुरक्षासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नेछन्। टोल विकास समितिहरूले हेल्मेट नलगाउने वा तीन जना चढ्ने बानीविरुद्ध सचेतना अभियान चलाए भने व्यवहारिक परिवर्तन सम्भव छ। आम सञ्चार माध्यम र सामाजिक सञ्जालहरूले पनि सकारात्मक सन्देश प्रसारण गरी नागरिक दबाब सिर्जना गर्न सक्छन्।
-
स्थानीय नेतृत्व र उत्तरदायित्व
यदि स्थानीय सरकार प्रमुख वा जनप्रतिनिधि स्वयंले नियमको अवहेलना गर्छन् भने, त्यो केवल व्यक्तिगत गल्ती होइन, संस्थागत असफलता हो। नेतृत्वले आफ्नो व्यवहारबाट नागरिकलाई सन्देश दिनुपर्छ कि सडक नियम सबैका लागि समान छन्। विद्यालय पाठ्यक्रममा सडक सुरक्षा अध्याय अनिवार्य रूपमा समावेश गर्न, स्थानीय तहका सामुदायिक तथा संस्थागत बिध्यालयमा ट्राफिक शिक्षक कार्यक्रम सञ्चालन गर्न र समुदायमा ट्राफिक स्वयंसेवक समूह गठन गर्न सकिन्छ।
सडक नियमको पालना केवल प्रहरीले मागेको औपचारिकता होइन, जीवन रक्षासँग जोडिएको संवैधानिक दायित्व हो। “हामी लोकल” भन्ने सोचले हाम्रो नागरिक चेतना कमजोर बनाउँछ। अब आवश्यक छ, नियम पालनलाई आत्मसम्मानको विषय बनाउने, अनुशासनलाई संस्कारको रूपमा स्वीकार्ने र सवारी चलाउने हरेक क्षणमा आफ्नो मात्र होइन, अरूको पनि जीवन सुरक्षित राख्ने प्रतिवद्धता जगाउने।
सडक सुरक्षित बनाउने शक्ति राज्यसँग मात्र होइन, हामी प्रत्येक नागरिकसँग पनि छ । जबसम्म हरेक नागरिकले सडक नियमलाई आफ्नो व्यक्तिगत सुरक्षा र सामाजिक जिम्मेवारीको रूपमा लिँदैनौ, तबसम्म सडक सुरक्षाको चुनौती कायमै रहन्छ ।
सामूहिक प्रतिबद्धता र जिम्मेवारीको भावनाले मात्र ‘हामी लोकल’ मानसिकतालाई ‘हामी जिम्मेवार’ मानसिकतामा रूपान्तरण गर्न सकिन्छ।
प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु थापा
प्रमुख – जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक ।



















