गोरखा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
गोरखा सदरमुकाममा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, “जेनजी आन्दोलनले उठाएका विषयहरू हामीले संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती माग पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।”
अन्तरिम सरकारबारे धारणा व्यक्त गर्दै प्रचण्डले थपे, “केपी ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन र संविधान संशोधनपछि मात्र संसद् विघटन गर्नुपर्छ भन्ने थियो।”
उनले जेनजी आन्दोलनलाई नयाँ पुस्ताको सचेत राजनीतिक अभियानका रूपमा उल्लेख गर्दै भने, “जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन्। हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ र ती आन्दोलनहरूले त्यसैको निरन्तरता देखाएका छन्।”



















