काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङतर्फ धकेलिएको भन्दै संविधान र वर्तमान व्यवस्थामै गम्भीर त्रुटि रहेको बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले केवल नेतृत्व परिवर्तन गर्दैमा देशको समस्या समाधान नहुने बताए। ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामै छ,’ उनले भने।
उनले विगतको निषेधको राजनीतिले मुलुकलाई बर्बादीतर्फ लगेको उल्लेख गर्दै अब राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
‘देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ। देश अहिले लिकबाहिर गएको छ,’ लिङ्देनले भने, ‘देशलाई बचाउन र समृद्ध बनाउन नयाँ शिराबाट राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ।’











