मंगलबार, बैशाख ०८, २०८३
जेनजी प्रदर्शनपछि अझै पाँच हजार कैदी–बालबन्दी फरार, सरकारले कारागार फिर्ता अभियान तीव्र

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेका करिब पाँच हजार कैदी–बालबन्दी अझै फरार रहेका छन् ।

प्रदर्शन चर्किएसँगै २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौवटा बाल सुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ बन्दी फरार भएका थिए। तीमध्ये अहिलेसम्म नौ कैदी र ५८२ बालबन्दी गरी कुल ९ हजार ५८२ बन्दी कारागार फर्किसकेका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ बन्दी अझै फरार छन्।

सरकारले फरार कैदीबन्दीलाई कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ। ठूलो सङ्ख्यामा कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती बढेपछि सरकारले विशेष अभियान सञ्चालन गर्दै फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा बुझाइरहेको छ।

मन्त्रालयले फरार कैदी–बालबन्दी खोजी, नियन्त्रण र पक्राउका लागि सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने कार्यदल गठन गरेको छ।

फरार भएका कैदी–बालबन्दी मुख्य रूपमा सुनसरी, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँ, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ, बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी र कञ्चनपुरका कारागारहरूबाट भागेका थिए।

बालसुधारगृहमा पनि मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटीबाट ९६४ बालबन्दी फरार भएका थिए। फरार हुँदा सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदीको गोली लागेर मृत्यु भएको थियो। यस्तै, नौवस्ता बालसुधारगृहमा झडपमा पाँच र डोटीमा एक बालबन्दीको मृत्यु भएको थियो।

कारागार कार्यालयहरूले फरार व्यक्तिहरूलाई अविलम्ब कारागार फर्किन सूचित गर्दै आएका छन्। सरकारले कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ।

हाल देशभर ७२ जिल्लामा रहेका ७५ कारागार र बालगृहमा विभिन्न अपराधमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी–बालबन्दी रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय