काभ्रे । साइकल कल्च कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यमा बृहत् साइकल यात्रा आयोजना गर्ने भएको छ । पूर्व-पश्चिम मध्य पहाडी लोकमार्ग हुँदै सन् २०२६ जनवरी १ मा पाँचथर चिवाभञ्याङबाट सुरु भई बैतडी झुलाघाट पुगेर अन्त्य गरिने साइकल यात्राको नेतृत्व क्यान्सरसँग सङ्घर्षरत साइक्लिस्ट हर्क लामाले गर्ने छन्।
सन् २०२० मा उनको पिसाव थैलीमा क्यान्सर देखिएपछि धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारकै क्रममा पनि उनले पहिलेकै सक्रिय साइक्लिङलाई निरन्तरता दिएका थिए। क्यान्सर उपचार पश्चात पनि साइकल प्रतियोगिताहरु जित्दै आइरहेका उनी अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा समेत सहभागी भइरहन्छन्।
अफ्रिकामा आयोजित संसारकै सबैभन्दा विशाल साइकल प्रतियोगिता Cape Epic-2025 मा सहभागी भएका उनी नेपालका उच्च हिमालहरुमा साइक्लिङ दुर गर्ने एक अगुवा साइक्लिस्ट हुन् । सन् २०१६ देखि निरन्तर साइकल प्रतियोगिताहरुमा सहभागी उनी स्यान्सरसँग सामना गर्दै राष्ट्रिय प्रतियोगिताहरुदेखि Yak Attack जस्ता साहसिक अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताहरुमा विजयी बन्दै आएका छन् ।
स्तन क्यान्सरको तेस्रो चरणबाट उठेर साइकलमार्फत सक्रिय सकारात्मक जीवनशैली अपनाई आएकी कविता चित्रकार हर्क लामासँगै उक्त साइकल यात्रामा सहभागी हुने छिन् । उनले संसारकै उच्चतम हिमालमा आयोजना गरिने अन्तर्राष्ट्रिय साइकल प्रतियोगिता Yak Attack-2025 मा सहभागी भइ अन्नपूर्ण सर्किट थोरोड्ला पास यात्रा सम्पन्न गरेकी थिइन् । नेपाली महिला साइकल समुदाय माझ कविता चित्रकार एक नमुना साहसिक नवसाइक्लिस्टको रुपमा परिचित छिन् । जन्मदिने आमा र दिदी दुवै उनको काखमै क्यान्सरका कारण बितेको यथार्थ भोगेकी कविताले आफू पनि क्यान्सरको अन्तिम स्टेजमा पुगेको यथार्व सामना गर्न असमर्थकै बनेको अवस्थामा साइकलको सहाराबाट नयां जीवन पाएको बताउँदै आएकी छिन् ।
साइकल मार्फत कविताको जीवनमा देखिएको परिवर्तनबाट उनको उपचारमा संलग्न चिकित्सकहरु समेत उत्साहित छन् । नियमित साइक्लिङलाई नै जीवनको सबैभन्दा अमूल्य जीवनशैली बताउदै आएकी उनी यस यात्रामार्फत क्यान्सरसँग संघर्षरत मानिसलाई सक्दो सहयोग जुटाउन उत्सुकताका साथ सहभागी हुँदै छिन् । बाँकी जीवन आफूमा जस्तै अरुमा पनि सकारात्मक उर्जा भर्न उनी यस साइक्लिङ यात्राप्रति समर्पित छिन् ।
कूल १८०० किमी दूरी पार गर्ने यस साइकल यात्रामा ५२००० मिटर elevation gain गरिने छ । त्यस क्रममा मेचीदेखि महाकालीका साइकलप्रेमी तथा सहयोगीहरु यात्रामा जोडिने छन् । एक महिनासम्म जारी रहने यस साइकल यात्रामा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिने छ । कतिपय स्थानमा स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिने छ । स्थानीय संघसस्थाले आफ्नो क्षेत्रमा विविध कार्यक्रमको आयोजनासहित यस यात्रालाई सहयोग गर्न सक्ने छन् । जो कोहि व्यक्ति सहभागी भई यस यात्रालाई उत्सवमयी बनाउन र आफ्नो गक्ष्य अनुसार कोषमा मुष्ठीदान गर्न सक्ने छन् ।
साइकल यात्राबाट प्राप्त रकम क्यान्सर विमारी सहयोग कोष स्थापनाका लागि धुलिखेल अस्पताललाई हस्तान्तरण गरिने छ ।
नेपालमा वार्षिक २२ हजार भन्दा बढी क्यान्सर रोगी थपिन्छन् । करिब १५ हजार नागरिक वर्सेनी क्यान्सरबाट मृत्यु वरण गर्छन् । जबकि अधिकांश क्यासर रोकथाम वा उपचार योग्य मानिन्छ । यद्यपि क्यान्सरले वर्सेनी यति ठूलो संख्यामा मानिसको ज्यान लिइरहेको देखिन्छ। भारी उपचार खर्चले धेरै नेपाली गरीबीतर्फ धकेलिन्छन । नेपालमा क्यान्सर पीडितले आवश्यक हेरचाह पाउन कठिनै देखिन्छ। यसर्थ, यस साइकल यात्रा नेपालका लागि नमुना कार्य बन्न सक्छ । यस यात्राले सचेतनाका साथसाथै नीति निर्माणमा समेत टेवा पुऱ्याउने अपेक्षा गरिएको छ ।
























