काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र यूएईबीिचको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ।
यूएई सिरिजको पहिलो खेलमा नेपाल अमेरिका विरुद्ध पराजित भएकाले आजको खेल नेपालका लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। लिग–२ मा निरन्तर प्रतिस्पर्धी बनेर अङ्क तालिकामा सुधार गर्न नेपालले आज जित निकाल्नै पर्ने दबाब छ।
शृङ्खलामा अमेरिका लगातार उत्कृष्ट प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति अमेरिकाले यूएईलाई चार विकेटले हराएको थियो। त्यसअघि अमेरिकाले नेपालमाथि १०६ रनको सहज जित हात पारेको थियो।
अमेरिकाविरुद्धको खेलमा नेपालको ब्याटिङ कमजोर देखिएको कारण आज घरेलु टोली यूएईलाई पराजित गर्न नेपालले ब्याटिङ तथा बलिङ दुवै क्षेत्रमा सुधारसहित खेल्नुपर्ने विश्लेषण गरिएको छ।
नेपालले यूएईसँगको खेलपछि कात्तिक १५ गते शनिबार अमेरिका र कात्तिक १९ गते बुधबार फेरि यूएईसँग भिड्नेछ।
हालसम्म विश्वकप लिग–२ मा नेपालले १७ खेलमा १२ अंक जोडेको छ र तालिकाको सातौँ स्थानमा रहेको छ। समान खेल खेलेको यूएईको ६ अंक छ र आठौँ स्थानमा छ। यसैबीच, २२ खेल खेलेको अमेरिका ३२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।



















