काठमाडौँ । वि.सं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा त्याग र साहसका प्रतिमूर्तिका रूपमा परिचित गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विविध स्मरण कार्यक्रमहरू आयोजित गर्दै मनाइँदै छ। प्रजातन्त्र प्राप्तिमा निर्णायक नेतृत्व प्रदान गरेका सिंह नेपाली राजनीतिमा सबै दल, समुदाय र पुस्ताबाट सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्। २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न अनुरोध गर्दा उनले आफ्ना सहकर्मी कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै अद्वितीय त्यागको उदाहरण प्रस्तुत गरेका थिए।
विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंहको निधन विसं २०५४ असोज २ मा भएको हो। खानदानी परिवारमा जन्मिए पनि उनले प्रजा परिषद्को सदस्य हुँदै राणा शासनविरुद्ध सक्रिय भूमिकाबाट राजनीतिक यात्रा सुरु गरे। राणा शासनको विरोधका क्रममा उनी जेलपरिरहनुपरेको थियो। विसं २००७ अघि भद्रगोल जेल फोरेर भारत पलायन भएका उनले बिपी कोइरालासँग मिलेर नेपाली राष्ट्रिय कांग्रेसलाई मजबुत बनाउने कार्यमा महत्वपूर्ण योगदान दिए।
विसं २००७ को प्रजातन्त्रिक क्रान्तिमा अग्रपंक्तिमा रहेर वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष सञ्चालन गरे। प्रजातन्त्रको पुनर्बहालीका लागि उनले निरन्तर संघर्ष जारी राखे। पहिलो आम निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनी, विसं २०१७ मा प्रजातन्त्र खोसिएपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा बन्दी जीवन बिताउन बाध्य भए।
विसं २०२५ मा बिपीसँगै जेलमुक्त भएपछि उनले प्रवास र स्वदेश दुवैतर्फ राजनीतिक संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेले। राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर विसं २०३३ मा स्वदेश फर्किएपछि पञ्चायती व्यवस्थाका विरुद्ध निरन्तर आन्दोलन चलाए। २०३६ को विद्यार्थी आन्दोलन, जनमत संग्रह तथा विसं २०४२ को सत्याग्रहमा समेत उनी अग्रणी स्थानमा रहे।
बिपी कोइरालाको निधनपछि कांग्रेस नेतृत्वको सर्वोच्च जिम्मेवारी सम्हालेर उनले विसं २०४६ को जनआन्दोलनलाई एकजुटतापूर्वक सफलतामा पुर्याएका थिए। यही आन्दोलनमा उनी सबैको प्रिय सर्वोच्च कमाण्डरका रूपमा स्थापित भए।
उनलाई दुईपटक सुन्दरीजल बन्दीगृहमा कैद गरिएको थियो, जुन स्थान विसं २०६१ पछि बिपी सङ्ग्रहालयका रूपमा रुपान्तरण भएको छ। गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस तथा उसका भ्रातृ संस्थाहरू लगायत शुभेच्छुकहरूले आज विभिन्न स्मरण तथा सम्मान कार्यक्रमहरू आयोजना गरिरहेका छन्।




















