शनिबार, मंसिर २७, २०८२
जनकपुरधाममा मुख्यमन्त्री नियुक्तिको विरोधमा जनकपुरधाम तनावग्रस्त

काभ्रे । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पदभार ग्रहण गर्ने तयारीसँगै जनकपुरधामको वातावरण तनावग्रस्त बनेको छ।

मुख्यमन्त्री नियुक्तिको विरोधमा उत्रिएका विपक्षी राजनीतिक दलका कार्यकर्ताले जनकपुरधामस्थित विभिन्न मन्त्रालयमा तोडफोड र तालाबन्दी गरेका छन्। प्रदर्शनकारीहरूले मन्त्रालयका फर्निचर र सामग्री तोडफोड गर्दै विरोध प्रदर्शन गरेका छन्।

यसबाहेक, बजारका विभिन्न स्थानमा टायर बाल्दै उनीहरूले प्रदेश प्रमुख सुमित्रादेवी भण्डारी र मुख्यमन्त्री यादवविरुद्ध नाराबाजी गरिरहेका छन्।

आज बिहानै प्रदेश प्रमुख भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि जनकपुरधाममा विरोध प्रदर्शन सुरु भएको हो।

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश संसदीय दलका नेता जेनुल राइनले मुख्यमन्त्री नियुक्तिमा प्रदेश प्रमुखको भूमिका शङ्कास्पद रहेको आरोप लगाउँदै उक्त नियुक्तिको राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने घोषणा गरेका छन्।

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले प्रदर्शनकारीहरूलाई संयमित रहन र शान्तिपूर्ण रूपमा आफ्नो धारणा व्यक्त गर्न आग्रह गरेको छ। प्रशासनले जनकपुरधाममा उत्पन्न तनावपूर्ण स्थिति नियन्त्रणमा लिन र कुनै मानवीय वा भौतिक क्षति हुन नदिन सुरक्षा सतर्कता बढाइएको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय